• १३ साउन २०८१, आइतबार
blog

काठमाडौँ, फागुन १२ गते । राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले राष्ट्रिय बीमा संस्थानले जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई थप बलियो बनाएको बताउनुभएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मूल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गर्ने संस्थानको भावी कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पुँजी वृद्धि गर्ने, तोकिएको समयावधिभित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भावी कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको चर्चा गर्दै भन्नुभयो, “अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन । प्रतिस्पर्धी बढेका छन् । अब बीमा संस्थानले दायाँबायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।”

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारमा मानव संसाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पु-याएको चर्चा गर्दै कुनै बेला नेपालको राम्रो संस्थानको साख बनाएको बीमा संस्थानले फेरि एक पटक पुरानो साख कायम गर्ने बेला आएको बताउनुभयो ।

संस्थानका अध्यक्ष ईश्वर पौडेलले संस्थानका समस्या र चुनौतीका सवालमा अर्को वार्षिकोत्सवमा हामी धेरै माथि उठ्यौँ भन्ने अवस्था सिर्जना हुने बताउनुभयो । पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापना कालदेखि नै विश्वसनीय संस्थाका रूपमा स्थान बनाउन सफल भएको उहाँले बताउनुभयो ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा छ अर्ब १५ करोड रुपियाँ बीमाशुल्क सङ्कलन गरेको छ । सोही अवधिमा संस्थानले एक अर्ब ५८ करोड रुपियाँ दाबी भुक्तानी गरेको छ ।

संस्थान ५६औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सोही अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड रुपियाँ पुगेको र कुल सक्रिय बीमालेख सङ्ख्या पाँच लाख ६० हजार रहेको जानकारी दिनुभयो । वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको छ । यसैगरी संस्थानले देशभरमा रहेका शाखा कार्यालयमध्ये उत्कृष्ट काम गर्दै आएका चारवटा शाखा कार्यालयलाई सम्मान गरेको छ । साथै संस्थानले छ जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।