• १३ साउन २०८१, आइतबार

कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज प्राप्त

पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन ११ गते । सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गत सोमबार कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य सुरु भएको पनि बताउनुभयो । उहाँले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कोभिड १९ विरुद्धको खोप अहिले प्राप्त भएको छ । १५ लाख खोप आइसकेको छ । अरू थप खोप आउँदैछ । त्यो आज भोलिसम्ममा प्राप्त हुन्छ । त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थामा खोप अभियान रोकिएको सन्दर्भमा अब नियमित सुचारु हुन्छ । त्यसमा हामीले खोप लगाउनलाई ५५ वर्ष माथिको उमेर समूहका प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई हामी खोप लगाउनेछौँ ।’’

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको बताउनुभयो । उहाँले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सक्ने उहाँको भनाइ छ ।

खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरूलाई खोप लगाइदिन उहाँले आग्रह गर्नुभयो । आज (बिहीबार) बाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

‘‘पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरू पहिलो टार्गेटमा र दोस्रो मात्रा लगाउन बाँकीहरू पनि प्राथमिकतामा पर्नुहुनेछ । अरू बुस्टर डोज लगाउनेहरूमा भने प्राथमिकताको आधारमा हुनेछ । हामीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेका छौँ । खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको छ । आफ्नो परिचय खुल्ने पत्र लिएर खोप केन्द्रमा गए खोप लगाउन पाइनेछ ।,’’ सहायक प्रवक्ता अधिकारीले भन्नुभयो, ‘‘खोप नलगाउनुभएका मानिसहरूले चाँडो खोप लगाइदिन र दोस्रो मात्राको खोप लगाउन बाँकी भएपनि लगाउन पनि आग्रह गर्दछौँ । अन्तिम बुस्टर मात्रा दोस्रो बुस्टर लगाइसकेको ३ महिना भइसकेको छ भने पनि लगाइदिनुहोला । रोग प्रतिरोधात्मक क्षमता कम र ज्येष्ठ नागरिकहरूका लागि एक बुस्टरमात्रा लगाइसकेको ६ महिना कटिसकेको भएपनि लगाइदिने गरी प्रबन्ध गरेका छौँ ।’’

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको सङ्क्रमण र अहिले फैलिरहेको सङ्क्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टरमात्राका रूपमा लगाउन मिल्ने जानकारी दिनुभयो ।