• १३ असोज २०८१, आइतबार

पार्किङ हटेपछि खुला भए सडक

blog

नवराज कट्टेल 

विराटनगर, फागुन ११ गते  । विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजनिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ। बजार क्षेत्रका सडक खुला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सरेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार सवारी तथा यात्रु आवागमन सहज भएको छ। मुख्य बजारअन्तर्गत ट्राफिक चोकदेखि तीनपैनीसम्मको कुनैपनि स्थानमा सवारी जाम हुने समस्या छैन। 

विराटनगर महानगरपालिकाले पार्किङको विकल्पसहित सडकमा रोकिँदै आएको सवारी व्यवस्थापन प्राथमिकतामा राखेर समाधान गरेको छ। जसको सकारात्मक प्रभाव मुख्य बजार क्षेत्र शान्त, सहज र खुला भएको हो। त्यसले बजारमा आवागमन सहज बनाएको छ। 

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, सहज आवागमनका लागि बजार क्षेत्रभित्रका सडक खुला पार्ने काम निरन्तर गरिने बताउनुभयो। उहाँले फुटपाथ खाली गर्ने काम सम्पन्न गरिएको र सडकको पार्किङलाई सामुहिक स्थलमा व्यवस्थापन गर्दै सहरको स्वरूप फेरिएको दाबी गर्नुभयो। 

प्रमुख कोइरालाले भन्नुभयो, “प्रदेश १ को राजधानीसमेत हो, यसको सौन्दर्यीकरणमा हाम्रो ध्यान केन्द्रित भएको छ। सार्वजनिक सडक निजी सवारी पार्किङ स्थल बन्न सक्दैनन्।” उहाँले अब मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापन सकिएकोले कोसी राजमार्गको सडक पार्किङ व्यवस्थापन गरिने बताउनुभयो। 

महानगरले चालेको कदमले ट्राफिक जनशक्तिको अभावलाई समेत सहज बनाएको छ। सवारी जाम र अस्तव्यस्त बजार हुँदा त्यसको व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरी अभावको समस्या समेत समाधान भएको छ। 

ट्राफिक चोकदेखि जलजला मोडसम्म, त्यसको पूर्व–पश्चिमका सडकसमेत खुला भएका छन्। अस्पताल लक्षित गरेर सडकमा हिँड्ने एम्बुलेन्सले साइरन बजाई रहनुनपर्ने भएपछि ध्वनी प्रदुषणसमेत नियन्त्रण भएको बताइन्छ। प्रदेश राजधानी भएका कारण भीआईपीको सवारी व्यवस्थापनमा समेत मुख्य बजार क्षेत्र सहज भएको हो। अब रोडशेषदेखि कञ्चनबारीसम्मको कोसी राजमार्गको सवारी व्यवस्थापनमा ध्यान केन्द्रित गरिएको छ। 

सडक बत्तीको व्यवस्था

विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मुख्य राजमार्ग र बजार क्षेत्रका आठ स्थानमा सडक बत्ती जडान गरिने भएको छ। 

विराटनगरको रोडशेष चोकदेखि राजवंशी चोकसम्मको क्षेत्रमा पाँच स्थानमा सडक बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढेको छ। छ लेन सडक आयोजना इटहरीले सडक बत्ती जडानको प्रक्रिया अगाडि बढाइसकेको छ। 

बजार क्षेत्रको ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन स्थानमा विराटनगर महानगरपालिकाले सडक बत्ती जडान गर्ने तयारी गरेको छ। महानगरका प्रमुख कोइरालाले दुई स्थानलाई यकिन गरिसकिएको बताउनुभयो। बाँकी एक स्थान कहाँ राख्ने भन्ने विषय अहिले सवारी तथा यात्रु चापको अध्ययन भइरहेको उहाँको भनाइ छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार छ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँस चोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोकमा सडक बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको परामर्शमा छ लेन सडक आयोजनाले सडक बत्ती जडान गर्ने स्थान यकिन गरिसकेको कार्कीले बताउनुभयो।