• १३ साउन २०८१, आइतबार

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

blog

काठमाडौँ, फागुन ११ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४२ हजार दुई सय क्विन्टल चामल खरिद गर्ने भएको छ ।

चालू आर्थिक वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको व्यापार कम्पनीले जनाएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसका लागि खाद्य कम्पनीले बोलपत्र आह्वानसमेत गरिसकेको छ ।

कम्पनीले अरुवा, सोना मन्सुली, स्टिम जिरा मसिनो, अरुवा साँवा, अरुवा मोटा र मार्सीलगायतका चामल खरिद गर्न लागेको जनाएको छ, जसमा मुख्य शाखा कार्यालय बिर्तामोडबाट तीन हजार क्विन्टल, प्रादेशिक कार्यालय विराटनगरबाट १० हजार क्विन्टल, मुख्य शाखा कार्यालय लहानबाट १५ हजार क्विन्टल चामल खरिद गर्ने व्यापार कम्पनीको योजना छ । 

यसैगरी वीरगञ्ज शाखा कार्यालयबाट २२ हजार क्विन्टल, काठमाडौँबाट २० हजार तीन सय क्विन्टल, प्रादेशिक कार्यालय भैरहवाबाट सात हजार आठ सय क्विन्टल, नेपालगञ्ज शाखा कार्यालयबाट २० हजार, प्रादेशिक कार्यालय धनगढीबाट २२ हजार क्विन्टल, प्रादेशिक कार्यालय सुर्खेतबाट २० हजार एक सय र तुलसीपुर शाखा कार्यालयबाट दुई हजार क्विन्टल चामल खरिद गर्ने कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले मार्सी चामल एक सय क्विन्टल मात्र खरिद गर्ने भएको छ । मार्सी धान किन्न नपाएपछि कम्पनीले कम परिमाणमा मार्सी चामल खरिद गर्न लागेको हो । गत वर्ष दुई सय क्विन्टल मार्सी धान खरिद गर्ने भनिए पनि कम परिमाणमा खरिद भएको थियो । जसले गर्दा यो वर्ष कम परिमाणमा खरिद गर्न लागेको कम्पनीले जनाएको छ । खाद्य कम्पनीले यसअघि धान खरिद गरी आफैँ कुटाएर चामल बिक्री गरेको थियो । अहिले पर्याप्त धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको हो ।  

खाद्य कम्पनीले यो वर्ष तीन लाख दुई हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा फागुन ८ सम्म एक लाख २९ हजार ४२९ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले बिर्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, राजपुुर, धनगढी र महेन्द्रनगरबाट धान खरिद गरेको छ । 

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरेको कम्पनीले जनाएको छ । धान बिक्री गर्न किसान नआएपछि लक्ष्यअनुसार खरिद गर्न नसकेको कम्पनीले जनाएको छ । कम्पनीले समयमा धान खरिद नगर्दा किसानले व्यवसायीलाई धान बिक्री गरिसकेकाले नपाएको कम्पनीले जनाएको छ ।   

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपियाँ र मध्यम धानको दुई हजार ९०२ रुपियाँ तोकेको थियो । सरकारले प्रत्येक वर्ष धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गर्छ । कम्पनीले गत वर्ष तीन लाख क्विन्टल धान खरिद गरेको थियो । 

कम्पनीले सुगम तथा दुर्गम ठाउँमा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ ।