• १३ साउन २०८१, आइतबार

पूर्व सैनिक थापाको कृषि कर्म

blog

नेपाली सेनाबाट सेवानिवृत्त भएका बन्दीपुर गाउँपालिका– ६ खहरेका जीतबहादुर थापा ।

अमरराज नहर्की

तनहुँ, फागुन ९ गते। नेपाली सेनाबाट सेवा निवृत्त भएका बन्दीपुर गाउँपालिका– ६ खहरेका जीतबहादुर थापा व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ। 

थापालाई हाल आफ्नो ३० रोपनी जग्गामा अम्लिसो काटेर कुचो बनाउने चटारो छ। एउटा कुचोको एक सयका दरले बिक्री गर्ने थापा अम्लिसो खेतीलाई अझ विस्तार गर्ने सोचमा हुनुहुन्छ। कुचोबाटै वार्षिक झण्डै ८० हजार रुपियाँ आम्दानी गर्ने गरेको थापाले बताउनुभयो।  खेर गएको बारीको कान्लामा अम्लिसो, र बारीमा कागती, जुनार, अदुवा लगायतका नगदे बाली लगाउरन दोहोरो आम्दानी लिनुभएको छ। सँगसँगै बारीको छेउछाउमा हुने अन्य घाँसका बोट बिरुवाबाट उहाँले पशुपालन गरेर आम्दानी गर्दै आउनुभएको छ। 

थापाले तीन सय लोकल कागती, दुई सय ५० भन्दा बढी जुनार, एक सयभन्दा बढी एबोकाडो र पशु आहाराको डाले घाँस समेत खेर गएको पाखोबारी लगाए मनग्ने आम्दानी गर्नुभएको छ। 

उहाँ भन्नुहुन्छ, ‘वार्षिक दुई लाखभन्दा बढी त कृषिजन्य उत्पादनबाट आम्दानी लिने गरेको छु।’ उहाँले सञ्चालन गरेको सञ्जीव कृषि तथा पशु फर्ममा स्थानीय खरी जातका बाख्रा,  स्थानीय जातका भैँसी, कुखुरा र हाँस पाल्नुभएको छ। चाँडै नै उहाँले माछा पाल्ने सोच बनाउनुभएको छ। 

उहाँले भन्नुभयो, ‘हामी जस्ता कृषकले सरकारबाट कुनै पनि सहयोग पाएका छैनौँ, सरकारले वास्तविकको कृषक पहिचान गरेर उत्पादनको आधारमा अनुदान दिए सा¥है राम्रो हुने थियो र हामी जस्ता कृषकको उन्नति र प्रगति हुने थियो।

 आफ्नो ३० रोपनीभन्दा बढी जग्गालाई विभाजन गरेर उपयुक्त स्थानमा बजारमा अत्यधिक माग रहेको र मूल्य बढी पाइने कालिज पनि जाली लगाएर व्यावसायिक रूपमा चाँडै पाल्न सुरु गर्ने थापाले  बताउनुभयो। 

अहिले उहाँको फर्ममा स्थानीय कुखुरा, पाडा, बङ्गुर, बाख्रा छन्। तिनैको स्याहार सुसार गर्दै तीन वर्ष अघिदेखि उहाँको  दैनिकी कृषिमा बितेको छ। कृषि तथा पशुजन्य उत्पादन बिक्री गरेर वार्षिक रूपमा चार लाख रुपियाँ मुनाफा हुने गरेको उहाँले जानकारी दिनुभयो।