• ६ जेठ २०८१, आइतबार

बाह्र नाउर र आठ झारलको शिकार अनुमति

blog

नाउर र झारल पहिचान गर्दै शिकारी । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, फागुन ९ गते । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष केन्द्रमा दोस्रो यामको शिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको शिकार अनुमति दिएको छ । 

विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारीका लागि दरभाउपत्र आह्वान गरेको हो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बँदेलको शिकार अनुमति पाउनेछन् । 

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकार गरिनेछ ।  यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ । आरक्षले शिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई याममा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुनेगरेको छ ।

आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लकअनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नै देश लैजान्छ । विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै शिकार भएको थियो । अघिल्लो याममा शिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा शिकार अनुमति दिन लागिएको हो । 

पहिलो शिकार याममा कुनै पनि नेपाली र विदेशीले शिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा बनेलको शिकारका लागि प्रस्ताव आव्हान गरिएको छ । नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बनेलको शिकार गर्न पाउनेछन् ।  

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । 

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको छ । स्थानीय स्तरमा पर्यटन विकास भएको कार्यालय प्रमुख कँडेलले बताउनुभयो । व्यवसायिक विदेशी शिकारीका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो ।