• १३ असोज २०८१, आइतबार

सङ्कटा झापा गोल्डकपको सेमिफाइनलमा

blog

मंगलबारको खेलमा प्रतिस्पर्धा गर्दै संकटा र भद्रपुर ब्लेजर्सका खेलाडी । तस्बिर : गोरखापत्र

लिलाराज खड्का 

बिर्तामोड, फागुन ९ गते । सङ्कटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । मनिसले  खेलको पाँचौँ मिनेटमा गोल गर्नुभएको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रामक खेल खेले पनि गोल फर्काउन सकेन । 

सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरनुप¥यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्कियो । पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन । त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो ।

प्लेयर अफ दि म्याच  सङ्कटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित हुनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले ७ लाख रुपियाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ दि म्याचले २० हजार, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार रुपियाँ दिइने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ । 

बुधबारको क्वार्ट फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।