• १३ असोज २०८१, आइतबार

जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

blog

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं. १ सम्मेलनको विराटनगरमा आयोजित उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसाल । तस्बिर : मनोज दाहाल/रासस

मोरङ्, फागुन ९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं. १ सम्मेलनको आज (मङ्गलबार) यहाँ उद्घाटन गर्नुहुँदै उहाँले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसकेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवम् सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताउनुभयो ।

मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढङ्गले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिनुभयो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, सङ्गठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाईं, प्रदेश अध्यक्ष नरमाया भट्टराईलगायतले अधिकृत र सुब्बा तहमा तलबमा रहेको विभेद हटाउनुपर्ने सुझाव दिनुभएको थियो ।

सोही अवसरमा पूर्वमन्त्री भुसालले सङ्गठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गर्नुभएको थियो । प्रदेश सम्मेलनमा १४ जिल्लाका सङ्गठन आबद्ध कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मेलनले आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । रासस