• ६ जेठ २०८१, आइतबार

सञ्चारमन्‍त्रीसमक्ष गोरखापत्र संस्थानको प्रस्तुतीकरण

नयाँ परिवेशमा गोरखापत्रले आफूलाई रूपान्तरण गर्नुपर्छ : मन्‍त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मङ्गलबार मन्‍त्रालयमा आयोजित गोरखापत्र संस्थानको प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : गोरखापत्र

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्रले आफ्ना प्रकाशनहरूलाई थप परिष्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभयो।

मङ्गलबार मन्त्रालयमा आयोजित गोरखापत्र संस्थानको प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा गोरखापत्रले आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। मन्‍त्री शर्माले स‌ंस्थानसँग रहेका प्रिन्टिङ मेशिनलगायतका प्राविधिक साधन स्रोतको अधिकतम उपयोग गरेर व्यापार बढाउनुपर्नेमा जोड दिनुभयो । 

मन्‍त्री शर्माले पछिल्लो समयमा गोरखापत्रले आफ्नो स्वरूप र सामग्रीको प्रस्तुतिमा गरेको सुधार प्रशंसनीय रहेको बताउँदै भूगोलको माग र विषयअनुसार गोरखापत्रले सम्पादकीय सामग्रीलाई अझ विशिष्टीकृत गर्नुपर्ने बताउनुभयो।

उहाँले संस्थानको मूल भवनको पुनर्निर्माण तथा अन्य पूर्वाधार विकास लागि मन्त्रालयबाट नीतिगत सहजीकरण गरिदिने आश्वासन दिनुभयो। मन्‍त्री शर्माले लामो समयदेखि अल्झिएको नयाँ कर्मचारी विनियमावली छिटै टुङ्गो लगाएर कर्मचारीको वृत्ति विकासलाई सहजीकरण गरिदिने बताउनुभयो। मन्‍त्री शर्माले पछिल्लो समयमा गोरखापत्रले आफ्नो स्वरूप र सामग्रीको प्रस्तुतिमा गरेको सुधार प्रशंसनीय रहेको बताउँदै भूगोलको माग र विषयअनुसार गोरखापत्रले सम्पादकीय सामग्रीलाई अझ विशिष्टीकृत गर्नुपर्ने बताउनुभयो।

मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्र र राइजिङ नेपालको डिजाइन लेआउटमा गरिएको परिवर्तनले पाठकमा सकारात्मक प्रभाव परेको र सामग्रीको प्रस्तुतिमा नयाँपन देखिएको बताउँदै राज्यको नीति, कार्यक्रमलाई प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्ने बताउनु भयो । लामो समयदेखि अल्झिएको कर्मचारीको वृत्ति विकास र स‌ंस्थानले थालेका सुधारका अन्य कार्यमा पनि मन्त्रालयले सहजीकरण गर्नुपर्छ भन्नुभयो । 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानको समग्र अवस्थासँगै सुधारका प्रयास र सम्भावना एवम् चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यकारी अध्यक्ष सुवेदीले वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानको आन्तरिक पद्धति तथा प्रवृत्ति एवम् उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तन थालिएको  छ भन्नुभयो । ।

 उहाँले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा संस्थानको आम्दानीमा २० प्रतिशतले वृद्धि गरिएको बताउनुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यापार तथा आम्दानी वृद्धिका नयाँ स‌म्भावना र विकल्प पहिल्याउँदै कार्यान्वयनमा जोड दिइएको बताउनुभयो।  कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलगायतका विभागीय प्रमुखहरूको सहभागिता थियो।