• १३ असोज २०८१, आइतबार

घुन्सामा पहिलो पटक आँखा शिविर

blog

घुन्सामा सञ्चालित शिविरमा बिरामीको आँखा जाँच गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ९ गते। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको काखमा रहेको ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा पहिलो पटक निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा सोमबार आँखा शिविर सञ्चालन गरिएको हो। घुन्सा तीन हजार ४५० मिटर बढी उचाइमा रहेको हिमाली बस्ती हो।

फक्ताङ्लुङ गाउँपालिका र तिलङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित आँखा शिविरबाट ८१ जनाले सेवा लिएका छन्। शिविरमा आँखा परीक्षण तथा उपचार सेवा लिएकामध्ये दुई जनामा मोतियाबिन्दु फेला परेको र उहाँहरूको शल्यक्रिया गर्नुपर्ने भएको छ। 

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार घुन्सामा भएको शिविरमा घुन्साका ३४, फलेका १०, ग्याब्लाका २७ र अम्जिलेसाका १० जनाले आँखा परीक्षण गराएका हुन्। 

मोतियाबिन्दुको समस्या देखिएका दुई जनाको आगामी साताको शुक्रबार र शनिबार गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा हुने शिविरमा शल्यक्रिया गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। 

सोमबार सुरु भएको निःशुल्क आँखा शिविर आगामी साताको शनिबार सम्पन्न हुनेछ। फक्ताङ्लुङ गाउँपालिकाका सात वटै वडाका सर्वसाधारणलाई राहत पुग्नेगरी आँखा शिविर आयोजना गरिएको हो। 

पहिलो दिन सोमबार घुन्सामा शिविर सञ्चालन गरिएको हो भने दोस्रो दिन बिहीबार ओलाङ्चुङगोला स्वास्थ्य चौकी, तेस्रो शनिबार हान्द्रुङटारमा शिविर हुने छ। 

त्यस्तै चौथो दिन आगामी साताको आइतबार र सोमबार छिरुवा बजार, पाँचौँ दिन लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा मङ्गलबार र बुधबार शिविर सञ्चालन हुनेछ। सबै केन्द्रमा सञ्चालित शिविरमार्फत मोतियाबिन्दु पहिचान भएका बिरामीको तापेथोकमा हुने शिविरमा शल्यक्रिया गरिने छ। 

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको संलग्नतामा शल्यक्रिया सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ।