• १५ जेठ २०८१, मङ्गलबार

एमाले सत्ता गठबन्धन टुटाउने पक्षमा छैन : नेता भट्टराई

blog

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, फागुन ९ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । मङ्गलवार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमाले गठबन्धन तोड्ने बिजनेस नगर्ने बताउनुभएको हो ।

पुस १० गते भएको सहमतिअनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको र त्यसैअनुसार अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले प्रचण्डलाई सडकमा फालेपछि उहाँ आफै बालकोट पुगेर सहमति गर्नुभएको हो, हामी अस्थिर राजनीतिको पक्षमा छैनौँ र यसले कसैलाई फाइदा हुँदैन ।”

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन बाहिर गएर राष्ट्रपति बनाउने कुरामा प्रधानमन्त्रीले जुन कुरा बोली रहनुभएको छ, त्यो अनुचित रहेको उहाँले बताउनुभयो । गठबन्धन तोड्ने काम भयो भने फेरि उहाँलाई कसैले विश्वास नगर्ने सचिव भट्टराईले भन्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नै राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा मिडियामा आएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले माधव नेपाल कम्युनिस्ट पार्टीको नेता, प्रधानमन्त्री भइसक्नुभएकाले राष्ट्रपतिका लागि योग्य उम्मेदवार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन गर्ने हो भने नेपाली कांग्रेसले पनि उहाँलाई मतदान गर्नुपर्छ ।” राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन नसकेमा एमालेले विगतमा भएको सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै बनाउने उहाँको भनाइ छ ।

एमालेलाई मुलुकको पहिलो पार्टी स्थापित गरी संसदमा समेत एमालेको बहुमत प्राप्त गर्न ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभयो ।