• १३ साउन २०८१, आइतबार

झ्याउरे गीतको हब बन्यो स्वाँरा होमस्टे

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन ८ गते । गुल्मी मुसिकोट नगरपालिका–६, कुर्घामा रहेको स्वाँरा होमस्टे पछिल्लो समय झ्याउरे गीतको हब बन्दै गएको छ । प्रसिद्ध तपोभूमि सालिमेदहको काँखमा रहेको स्वाँरा गाउँमा २०६९ देखि सञ्चालनमा आएको यो होमस्टे तत्कालीन जिल्ला विकास समितिले सञ्चालनमा ल्याएको हो । 

स्वाँरा गुरुङ सामुदायिक होमस्टेमा अर्ग्यानिक खानपिन, झ्याउरे गीत र नौमती बाजा तालको नाचगानका कारण त्यहाँ बस्न जाने मानिसहरूको चाप अहिले दिनप्रतिदिन बढ्दै गएको छ । आधुनिकताले खिचेको समाजलाई यो होमस्टेमा गाइने झ्याउरे गीत पर्यटकका लागि मुख्य आकर्षण बनेको छ । 

मालिका मन्दिरको दर्शन गरेर समुन्द्री सतहदेखि करिब १५ सय मिटर उचाइमा रहेको स्वाँरा गाउँमा पुग्छन् । मालिका मन्दिरकै महिमाका कारण कुर्घाबासीको आम्दानीको स्रोत पनि बढ्दै गएको छ । यहाँ समतल र आकर्षक उपत्यका देखिँदा निकै आनन्द महसुस हुने स्थानीयहरूले बताएका छन् । 

यहाँ निकै मनकारी, फरासिला र इमानदार गुरुङ समुदाय बसोबास छ । मनै लोभ्याउने थलो भएको रूपमा रहेको हुँदा भौतिक र मानसिक थकान मेटाउन यहाँ मानिसहरू जाने गर्दछन् । गुरुङहरुको सांस्कृतिक संरक्षणसँगै उनीहरूले नौमती बाजा  पनि आफैंले बजाउने गरेका छन् । बाजा तालमा झुम्दै स्थानीयहरूले मनोरञ्जनमय बनाउने गरेका छन् । 

स्वाँरा गाउँमा ३२ घरधुरी र  कुर्घाभर ६९ घरधुरी  गुरुङ समुदायहरू बसोबास गर्दछन् ।  उनीहरूले आर्थिक सङ्कलन गरेर बौद्ध स्तुपा निर्माण गर्दैछन् ।  जहाँ लोप हुन लागेको गोलघर पनि बनाइएको छ । होमस्टे सञ्चालनमा स्थापना कालदेखि नै भारतीय सेनाका अवकाश प्राप्त सुबेदार कुलबहादुर गुरुङले ठुलो योगदान पुर्याउनुभएको छ । हाल बुटवलमा बसे पनि उहाँले पेन्सनको केही हिस्सा रकम होमस्टे सञ्चालनमा खर्च गर्नुभएको छ । 

गुरुङ समुदायको संस्कृति संरक्षण र होमस्टे सञ्चालनमा स्थानीय र प्रदेश सरकारले ठूलो सहयोग गरेको र थप विकासका लागि आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको होमस्टे सञ्चालक समिति अध्यक्ष झलकसिंह गुरुङले बताउनुभयो ।