• १३ साउन २०८१, आइतबार

बीउबिजन समयमै किसानसम्म पुर्‍याउन कृषिमन्त्री साहको सुझाव

blog

कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह धनुषास्थित कृषि अनुसन्धान केन्द्रको अनुगमन गर्नुहुँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, माघ ५ गते ।
कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहले अध्ययन अनुसन्धानबाट उत्पादन भएका बीउबिजन समयमै किसानसम्म पुर्‍याउन कृषि अनुसन्धानमा आधारित योजनाका प्रमुखहरुलाई सुझाव दिनुभएको छ । शुक्रबार धनुषाको विभिन्न कृषि अनुसन्धान केन्द्रको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले सो सुझाव दिनुभएको हो ।

मन्त्री साह जिल्लाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित कृषि अनुसन्धान केन्द्र, नकटाझिजस्थित कृषि यान्त्रिकीकरण र लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनियाँस्थित राष्ट्रिय धानबाली अनसुन्धान कार्यक्रम हर्दिनाथकोे अनुगमन गर्नुभयो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले अनुसन्धानपश्चात् तयार पारिएका उन्नत जातका धान, गहुँलगायतका बीउबिजन समयमै किसानसम्म पुर्‍याउन सके उत्पादनमा वृद्धि आउने बताउनुभयो ।

यस कार्यलाई तीव्रता दिन कर्मचारीहरुलाई निर्देशन दिएको उहाँले बताउनुभयो । केही समस्या छ भने त्यसलाई समाधान गरेर उत्पादनमा बढी जोड दिन निर्देशन दिएको पनि उहाँको भनाइ छ ।

किसानको आवश्यकता र चाहना के हो ? त्यो उपलब्धि कसरी हासिल गर्न सकिन्छ । बीउबिजन, सिंचाइ, मल कृषि बीमाको समस्या कसरी हल गर्न सकिन्छ । भन्नेतर्फ आफू गम्भीर रहेको मन्त्री साहले बताउनुभयो ।

त्यसतर्फ आफू गम्भीर रहेको बताउँदै मन्त्री साहले समृद्ध मधेश प्रदेश, समृद्ध नेपाल बनाउन यहाँका जनता राज्यबाट प्राप्त हुने सुविधाबाट वञ्चित नहोस् भने एउटा नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । मन्त्री साहले उत्पादन वृद्धि तथा किसान व्यवस्थापनमा स्थानीय तहको विशेष भूमिका हुने हुँदा स्थानीय तहले पनि आफ्नो दायित्व निर्वाह गर्न सके उत्पादनमूलक क्षेत्रमा आत्मनिर्भर बन्न सकिने जानकारी दिनुभयो ।