• १३ साउन २०८१, आइतबार

महाशिवरात्रि : तीन वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह

blog

तस्बिर : काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा

काठमाडौं, फागुन ५ गते ।  महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा शनिबार यातायात प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको हो ।

त्यसैगरी, मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध गर्नुभएको छ ।

सवारीमार्ग निर्धारण

बस तथा माईक्रोबसहरू :

- रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।

- रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात् महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने ।

- कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगन्जको बाटो चलाउने ।

माइक्रोबस तथा ट्याम्पोहरू :

- सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा ट्याम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।

- जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा ट्याम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।

मालवाहक सवारी साधनहरू

- जोरपाटी, बौद्ध, चाबहिल हुदैं महाराजगन्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगन्ज तर्फ जानु पर्ने ।

- कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।

- कोटेश्वर तीनकुने हुदैं पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।

- महाराजगन्ज, चाबहिल हुदैं पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्ग व्यवस्थापन :

१. तीलगंगा आँखा अस्पताल अगाडी : तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरू ।

२.  देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल : पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरू मात्र ।

३. सिफल चौर : पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।

४. गुह्येश्वरी पारी : गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरूका सवारी साधनहरू ।

५. वनकाली क्षेत्र  : महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरूको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरू ।