शिक्षालाई विभिन्न विद्वान्ले फरक फरक तरिकाले अथ्र्याएका छन् । सभ्यताको विकाससँगै मानिसले सुखी र सम्पन्न जीवनको आधार शिक्षा मान्दै आएको पाइन्छ । मानव जीवनमा शिक्षा आर्जनको न आदि हुन्छ, न त अन्त्य नै । शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । शिक्षा प्राप्त गर्नु भनेको विश्वविद्यालयबाट उच्चशिक्षाको प्रमाणपत्र आर्जन गर्नु मात्र होइन । शिक्षाका बाटा र पाटाहरू अनेक छन् । शिक्षा केवल पाठ्यक्रमको ज्ञान मात्र होइन, समाज बदल्ने नैतिक जिम्मेवारी हो । प्लेटोका शब्दमा शिक्षा आत्मालाई उज्यालोतर्फ मोड्ने माध्यम हो । यही उज्यालो सोचबाट दिमाग सकारात्मक बन्छ । ‘तमसोमा ज्योतिर्गमय’ को मार्गनिर्देश गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । दार्शनिक सुकरातका शब्दमा शिक्षा भनेको भाँडो भर्नु होइन, आगो बाल्नु हो । यो आगो भनेको मगजमा उत्पन्न हुने जिज्ञासा हो । जिज्ञासाले प्रश्न गर्ने साहस र सत्य खोज्ने चेतना दिन्छ । यस अर्थमा शिक्षालाई दिमाग खोल्ने चेतनामय कुन्जीका रूपमा अथ्र्याउन सकिन्छ ।
त्यसो त शिक्षा आर्जनको एकडोर विधि हुँदैन । शिक्षा औपचारिक, अनौपचारिक तथा अनियमित प्रक्रियाबाट आर्जन हुन्छ । औपचारिक शिक्षा आर्जनका संस्थाहरू विद्यालय, महाविद्यालय र विश्वविद्यालय हुन् भने अनौपचारिक शिक्षा अन्तर्गत शिक्षालयबाहिरका सङ्घ संस्था हुन् । अनौपचारिक रूपमा आर्जन गरिने शिक्षाले पनि मानिसको मन, मस्तिष्क र चिन्तनको विकासमा भूमिका खेलेको हुन्छ । घरपरिवार, छिमेक, समुदाय, सञ्चारका साधन, स्वअध्ययन, अन्तक्रिया, छलफल, बहस, विचार विमर्श, अवलोकन आदि जस्ता माध्यमबाट पनि मानिसले शिक्षा आर्जन गरिरहेको हुन्छ । मानिसले जहाँबाट जसरी शिक्षा आर्जन गरेता पनि यसको मुख्य काम मानिसको मगजलाई फराकिलो बनाउनु हो । दिमाग खोल्नु हो । अँध्यारोबाट उज्यालो मार्गको यात्रामा हिँड्न सक्ने क्षमता आर्जन गर्नु हो ।
प्राचीन समयमा विद्यालय र विश्वविद्यालय थिएनन् । मानिसले अनौपचारिक रूपमा आर्जन गरेको अनुभव र सिकाइका आधारमा जीवन बिताउने गर्थे । समाज विकासको क्रमसँगै विद्यालय खोलिए । विश्वविद्यालय निर्माण भए । आधुनिक समाज निर्माणसँगै विद्यालय तथा विश्वविद्यालयमा पढ्नेलाई शिक्षित भनिन थालियो । अनियमित वा अनौपचारिक शिक्षाबाट प्राप्त ज्ञानले प्रशिक्षित भएता पनि शिक्षित र अशिक्षित छुट्याउने क्रममा औपचारिक शिक्षाको मानदण्डले मान्यता पाएको देखिन्छ । औपचारिक शिक्षा कै आधारमा हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुन्छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, वकिल, प्रशासक, वैज्ञानिक आदि इत्यादि क्षेत्रका जनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालयले विशेषज्ञताको भूमिका खेलेका हुन्छन् । यस कोणबाट हेर्दा दक्ष जनशक्ति उत्पादन गर्नका लागि औपचारिक शिक्षाको महìव रहेको पाइन्छ ।
शिक्षा ज्ञानको स्रोत हो । चाणक्य भन्छन्, “ज्ञानले विनम्रता दिन्छ, विनम्रताबाट चरित्र जन्मन्छ ।” रुसोका अनुसार पनि शिक्षा चरित्र निर्माणको स्रोत हो भन्ने छ । चरित्र निर्माणको सवाल मानिसको सोचसँग जोडिएको हुन्छ । सकारात्मक सोचले व्यक्ति र समाजलाई सभ्य, सुसंस्कृत बनाउँछ भने नकारात्मक सोचले अपराधीकरणतर्फ निर्देश गर्छ । शिक्षा सत्यम्, शिवम् र सुन्दरम्को भाव सिर्जना गर्ने पुन्ज हो । सिर्जनात्मक चिन्तनको आधार हो । मार्टिन लुथर भन्छन्, “शिक्षाको मूल काम गहिरो र समालोचनात्मक सोच सिकाउनु हो ।” उहाँका अनुसार गहिरो चिन्तनको विकास नभई समालोचनात्मक सोचको सिर्जना हुन सक्दैन भन्ने हुन आउँछ । यस कोणबाट हेर्दा शिक्षाले व्यक्तिको मगजलाई गुण र दोषका आधारमा देश र दुनियाँलाई हेर्न सक्ने फराकिलो क्षमताको विकास गर्छ ।
नेल्सन मण्डेलाले शिक्षा संसार परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार हो भनेका छन् । त्यो हतियार तब मात्र प्रयोग हुन सक्छ, जब त्यसले शिक्षितको दिमाग खोल्न सक्छ । अल्बर्ट आइन्स्टाइन भन्छन्, “प्रश्न गर्न सक्नु नै शिक्षाको आत्मा हो ।” प्रश्न गर्न सक्नुको अर्थ सबल र दुर्बल पक्षका आधारमा सत्यको खोजी गर्ने क्षमता हो । यसरी हेर्दा शिक्षाले समालोचनात्मक तथा आलोचनात्मक दृष्टिकोणको विकास गर्छ । शिक्षाले मानव जीवनका आयाममा भिन्न भिन्न कार्य गर्ने भएता पनि यसको मुख्य कार्य मानिसको मगज खोल्नु हो । मगज खोल्ने क्रममा शिक्षाले व्यक्तिका अन्तर्निहित प्रतिभाको विस्फोट गराउन मद्दत गर्छ । व्यक्तिबाट व्यक्तित्व निर्माण गर्न पनि शिक्षाको नै भूमिका हुन्छ । वास्तवमा शिक्षा बालबालिकाका लागि सामाजिकीकरणको माध्यम हो भने युवाका लागि शिष्ट, सभ्य सिर्जनशील तथा पेसागत ज्ञान र सिप आर्जनको आधार हो । शिक्षाको महिमा यति गहन छ कि धनीहरूका आभूषण, वृद्धहरूका लागि आत्मसन्तुष्टि तथा गरिबका लागि आयआर्जनको साधन हो ।
शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकासमा सहयोग गर्छ । सामाजिक, नैतिक, बौद्धिक, सांस्कृतिक, आत्मिक, सौन्दर्यात्मक, संवेगनात्मकलगायतका गुणको विकास गर्न शिक्षाले कुञ्जीका रूपमा काम गर्छ । महात्मा गान्धीको शब्दमा बालक र मानिसको शरीर, मन, आत्मामा रहेका असल कुरालाई सम्पूर्ण रूपमा बाहिर निकाल्ने काम शिक्षाले गर्छ । यसको अर्थ मानिसमा खराब कुराहरू पनि हुन्छन् तर खराब चिन्तन, आचरण र अभ्यासको अन्त्य गरी असल व्यवहार निर्माण गर्न शिक्षाले औषधीको काम गर्छ भन्ने हो । शिक्षाबारे महात्मा गान्धीको जस्तो मिल्दोजुल्दो भनाइ भिक्टर ह्युगोको पनि छ । उहाँ भन्नुहुन्छ, “जो मान्छेले विद्यालयको ढोका खोल्छ, उसले जेलको ढोका बन्द गर्छ ।” यसको अर्थ शिक्षाले समाजलाई अपराधी चिन्तन र अभ्यासको अन्त्य गरी विकास र नवप्रवर्तनको दिशामा डो¥याउन दियो रूपी उज्यालोको भूमिका खेल्छ ।
अहिले हाम्रो समाजमा पढेलेखेका मानिसको सङ्ख्यामा वृद्धि भइरहेको छ । परन्तु समाजमा विभेद, अशान्त, द्वन्द्व, भ्रष्टाचार, अपराधीकरण, हत्या, हिंसा, सम्बन्धमा टकराव जस्ता क्रियाकलाप बढिरहेको देखिन्छ । गान्धीले भनेको जस्तो असल चरित्र र अभ्यास समाजले अनुभव गर्न सकिएको छैन । बुद्धले भन्छन्, “तिमी जस्तो सोच्छौँ त्यस्तै बन्छौँ ।” यसको अर्थ सोचाइले मानिसलाई निर्देश गर्छ भन्ने हो । हाम्रो शिक्षाले समाजको मन, मस्तिष्कलाई गान्धी, बुद्ध र भिक्टर ह्युगोले भने जस्तो असल चरित्र, सकारात्मक सोच तथा अपराधमुक्त व्यवहार निर्माण हुन सकेन भन्ने कोणबाट घोत्लिनुपर्ने अवस्था देखिन्छ ।