• १३ असोज २०८१, आइतबार

दाताबाटै बसपार्क अतिक्रमण सुरु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन ५ गते । मोरङको उर्लाबारी–६ मा आठ वर्षअघि निर्माण सुरु भएको उर्लाबारी बसपार्कमा तीन तहका सरकारको आँखा नपरेपछि जग्गादाताले नै बसपार्कको जग्गा अतिक्रमण गर्न थालेका छन् । उर्लाबारी गाउँ विकास समिति छँदै निर्माण सुरु भएको बसपार्क नगरपालिका बनेपछि जनप्रतिनिधिको एक कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आउँदासम्म पनि बसपार्क अझै ज्युँका त्यँछ ।

स्थानीय बासिन्दाले एक बिघा १३ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि २०७१ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो तर आठ वर्ष बितिसक्दा पनि बसपार्क निर्माण अलपत्र छ । तीनै तहको सरकारको आँखा नपरेपछि जग्गादाताले नै बसपार्कको जग्गा अतिक्रमण गर्न थाल्नुभएको छ । स्थानीय किशोर श्रेष्ठले भन्नुभयो, “जग्गादाता बालकृष्ण कार्कीले बसपार्क घेराबारा गरेको पर्खाल भत्काएर आफ्नो जग्गाको क्षेत्रफल बढाउनुभएको छ तर कसैले पनि बास्ता गरेका छैनन् ।” श्रेष्ठले भन्नुभयो, “बसपार्क सञ्चालनमा नहुँदा स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ । बसपार्क लागूऔषध प्रयोगकर्तालाई सुरक्षित स्थान भएको उहाँले बताउनुभयो ।  

यता कार्कीले भने बसपार्कको घेराबाराले आफ्नो जग्गा छेकेकोले पर्खाल भत्काएको स्वीकार्नुभयो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७१/७२ मा बसपार्क निर्माणका लागि ४० लाख रुपियाँ विनियोजन गरेको थियो । त्यो रकम जग्गा व्यवस्थापन र माटो पुरपारमा सकिएको जग्गा खोजबिन समितिका संयोजक अम्बिका बोहोराले बताउनुभयो । 

त्यसपछिका दुईवटा आर्थिक वर्षमा बजेट छुट्टिएन । आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले दुई करोड ६५ लाख रुपियाँ छुट्टयायो । सो रकमले बसपार्कको पूर्व र उत्तर कम्पाउन्ड लगाउने, पूर्व–पश्चिम राजमार्गसँग बसपार्कलाई जोड्ने चार सय मिटर सडक कालोपत्रे गर्ने र शौचालय निर्माण कार्य भयो । २०७६/७७ मा ५० लाख रुपियाँ मात्र आयो । उक्त रकमबाट बसपार्क परिसरमा यात्रु प्रतिक्षालय पनि निर्माण गरियो त्यो प्रतीक्षालय यतिबेला भत्किसकेको छ । 

बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा, नगर र प्रदेशले पहल गरे पनि कुनै निकायले थप बजेट नपठाएकोले बसपार्क निर्माण हुन नसकेको हो । वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो, “तत्कालीन सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपाल सिंह जिमीको सहयोगमा सम्बन्धित निकायमा पुग्यौँ तर बजेट छैन भन्ने जवाफ आयो । त्यसपछि बसपार्क निर्माण झनै चुनौतीपूर्ण बनेको छ ।  

यता उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बसपार्क निर्माणका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेको बताउनुभयो । “यो ठूलो आयोजना हो, नगर विकास कोषसँग हामीले परामर्श लिइरहेका छौँ ।” फेरि नयाँ डीपीआर बनाएर मात्र काम थाल्नु पर्ने सुझाव आएकोले थप काम अघि नबढेको बताउँदै उहाँ थप्नुहुन्छ, पहिले बिना योजना काम सुरु भएको थियो, त्यसैले आधा काम भएर रोकियो । अब कुन मोडलमा बन्छ, त्यो डीपीआर बनेपछि मात्र थाहा हुन्छ ।  

बसपार्कको रनवे, सपोर्टवाल, ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने सडक कालोपत्रेलगायतका काम गर्न अझै बाँकी नै छ । सरकारले  रिक्सा स्ट्यान्ड निर्माण गर्ने गरी बजेट पठाउँछ । स्थानीय सरकार जवाफदेही छैन, बसपार्क क्षेत्रका सरोकारवाला आक्रोश पोखिरहेका छन् ।