लेखनाथ समाचारदाता
लेखनाथ, मङ्सिर २८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशको समृद्धिका लागि भौतिक पूर्वाधारसँगै सोचमा परिवर्तन जरुरी भएकोमा जोड दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको समेत कार्यभार समाल्नुभएका मन्त्री घिसिङले युगको आवश्यकता र जनताका अपेक्षा पूरा गर्ने गरी राजनीतिक नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल मञ्चले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “ब्युरोक्रेसीमा अनेक समस्या छन् । ऐन, कानुन, नीतिमा पनि समस्या छन् ।” मन्त्री घिसिङले भन्नुभयो, “१५ वर्षसम्म पुल बन्दैन, बाटो सकिँदैन । कर्मचारी संयन्त्रको सोच बदलिनु पर्छ । अब आउने सरकारले ऐन, कानुन परिमार्जन गरी भौतिक पूर्वाधार बेलामा र गुणस्तरीय बनाउने बाटो खोल्नु पर्छ ।”
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका उहाँले प्राधिकरणले विसं २०५० सम्मको देशको माग र उत्पादनको सम्भावनालाई ध्यानमा राखी काम गरिरहेको जनाउनुभयो । पर्यटन राजधानी पोखराको विद्युत् सेवालाई गुणस्तरीय बनाउन लेखनाथमा सबस्टेसन निर्माण भइरहेको उल्लेख गर्नुभयो ।
विदेशीको रोजाइमा पर्ने पदमार्गमा सडक नबनाउने र बनिसकेका भए पनि हरितक्षेत्र (ग्रिनजोन) बनाउनुपर्ने विचार राख्नुभयो । एसियाली विकास बैङ्कको सहयोगमा पोखरा, भरतपुर, लुम्बिनी त्रिभुजाकार परियोजना अगाडि बढेको सुनाउँदै उहाँले पोखरासम्म सहज पहुँचका लागि राजमार्गको स्तरोन्नतिमा सरकारले ध्यान दिएको जनाउनुभयो ।
अहिले पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति भइरहेको छ भने सिद्धार्थ राजमार्ग स्तरोन्नतिको तयारी भएको छ । पर्यटनका लागि सहज सडक र हवाई सम्पर्क जरुरी हुनेमा जोड दिँदै उहाँले पोखराबाट बागलुङ, जोमसोम हुँदै कोरलासम्म पुग्ने सडकले सम्भावनाका ढोका खोल्ने उहाँको विश्वास छ । “यो क्षेत्रको सबैभन्दा महत्वपूर्ण कालीगण्डकी कोरिडोरलाई कालोपत्रे बनाउन टेन्डर गर्ने चरणमा छौँ,” उहाँले भन्नुभयो ।
सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी दक्षिण भारतका पर्यटकलाई पोखरा र काठमाडौँ सहज पहुँच सुनिश्चित गर्ने सरकारको योजना रहेको उहाँको भनाइ छ । मन्त्री घिसिङले भन्नुभयो, “सिद्धार्थ राजमार्गमा करिब छ किलोमिटर सुरुङसहित सिधा र सहज बाटो बनाइँदै छ, जसले दक्षिणबाट आउने पर्यटकलाई पोखरा र राजधानी आउन सजिलो हुन्छ ।”
पोखराको सुन्दरता जोगाउँदै पर्यटन प्रवर्धनमा लाग्नु जरुरी भएको उहाँको भनाइ छ । विद्युत् प्राधिकरणले लेकसाइड र राजमार्गसहित पोखरा बजारका मुख्य क्षेत्रका बिजुलीका तार भूमिगत गर्दै छ । मन्त्री गुरुङले अहिलेको सरकारको मुख्य काम निर्वाचन गरी जनअपेक्षाबमोजिम बन्ने सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको जनाउँदै त्यसपछिको सरकारले कानुनी सुधारसहित सुशासन र विकासमा फड्को मार्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । उज्यालो नेपाल पार्टीको प्रदेश भेलालाई समेत उहाँले सम्बोधन गर्नुभयो । भेलामा उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक कुशल गुरुङ, केन्द्रीय सदस्य रिमा विश्वकर्मालगायतले धारणा राख्नुभएको थियो ।