• १३ असोज २०८१, आइतबार

दोमुखाको सडक कालोपत्रे हुँदै

blog

बिर्तामोड समाचारदाता 

बिर्तामोड, फागुन ४ गते । झापाको शिवसताक्षी नगरपालिका–१० को दोमुखा क्षेत्रसम्म जाने बाटो कालोपत्रे हुने भएको छ। यो पूर्वकै चर्चित पर्यटकीय स्थल हो। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ जाने दुई हजार नौ सय मिटरको उक्त सडकको कालोपत्रे शिलान्यास गरिएको छ। 

झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँवा लिम्बू, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सडकको शिलान्यास गर्नुभएको हो । 

शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजना  चक्रपथअन्तर्गत सडक कालोपत्रे गर्न लागेको हो। कालोपत्रेका लागि नगरपालिकाको आन्तरिक बजेटबाटै दुई करोड २४ लाख ८३ हजार २४५ रुपियाँ रकम विनियोजन भएको छ। सडकका लागि सङ्घीय सरकारको समपूरक कोषबाट दुई करोड रुपियाँ गरी चार करोड २४ लाख ८३ हजार २४५ रुपियाँ लागतमा उक्त सडक निर्माण हुन लागेको हो। 

शिवसताक्षी नगरपालिकाले एउटै योजनाका लागि दुई करोड २४ लाख रुपियाँ बजेट विनियोजन गरेको यो पहिलो योजना भएको नगरप्रमुख मेघाहाङ थोप्राले बताउनुभयो। यसै आर्थिक वर्षभित्रै निर्माण सम्पन हुने गरी थालिएको उक्त सडक सात मिटर चौडाइको कालोपत्रे हुने सम्झौतामा उल्लेख छ।  

शिलान्यासको क्रममा बोल्दै सङ्घीय सांसद लिम्बूले जनप्रतिनिधिले विकासका लागि अभियानकै रूपमा काम थालेको बताउनुभयो। पूर्वको पर्यटकीय क्षेत्र दोमुखा सडकलाई कालोपत्रे गरेर पर्यटक भित्र्याउन थप मद्दत मिल्ने साँवाको भनाइ छ। त्यस्तै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नगरपालिकाको गौरवको क्षेत्र भएकोले नगरले ठूलो बजेट यस पर्यटकीय सडकमा विनियोजित गरेको बताउनुभयो। 

सडकमा पर्ने रुख नकाटी रुखको दुवैतर्फबाट एक एक लेन सडक बनाउने निर्णय गरेर सडकको काम अघि बढाएको नगरप्रमुखको भनाइ थियो। विकासका लागि जस्तोसुकै अवरोध चिरेर भए पनि सडक निर्माण थालिएको नगरप्रमुख थोप्राको भनाइ थियो। उक्त पर्यटकीय क्षेत्र दोमुखामा उक्त सडक कनकाई सिँचाइ आयोजनाले २०३३ सालमा निर्माण गरेर छाडेपछि हालसम्म कसैको पनि ध्यान पुगेको थिएन। धुलाम्मे उक्त सडकबाट पर्यटकलाई हिँडडुल गर्न निकै सास्ती भोग्दै आएका थिए। हाल उक्त सडक पर्यटकलाई आकर्षण गर्नका लागि ‘सेल्फी रोड’का रूपमा निर्माण गर्न लागिएको नगरप्रमुख थोप्राको भनाइ थियो। 

सतासी निर्माण सेवाले ठेक्का लिएको उक्त सडक असार १५ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनीका भैरवकुमार श्रेष्ठले बताउनुभयो। 

सडक बनेपछि पर्यटकीय क्षेत्र दोमुखामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। लामो समयपछि सडक बन्ने भएपछि स्थानीय दोमुखावासी हर्षित भएका छन्। दोमुखा क्षेत्रमा नेपालका मात्रै नभएर छिमेकी मुलुकबाट समेत पर्यटक आउँछन्।