• ४ पुस २०८२, शुक्रबार

चिसो बढेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले गाउँ छाडे

blog

हिउँद यामसँगै गाउँ छाड्नेका कारण सुनसान बनेको पापुङको तोक्पेगोला बस्ती । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ४ गते । ताप्लेजुङको हिमाली बस्ती पापुङको तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न थालेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न अर्थात चिसोबाट जोगिनलाई गाउँ छाड्न सुरु गरेका हुन् ।

मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला चार हजार १०० उचाइमा रहेको छ भने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, घुन्साको उचाइ तीन हजार ४७५ मिटर रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर) पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती तोक्पेगोला हो । मङ्सिर दोस्रो सातापछि तोक्पेगोला र घुन्साका स्थानीयले चिसो छल्न गाउँ छाड्न थालेका बताइएको छ ।

तोक्पेगोलामा बसोबास गर्दै आएका करिव डेढ दर्जन परिवारमध्ये अधिकांसले गाउँ छाडेका पापुङका स्थानीय नुपु शेर्पाले जानकारी दिनुभयो । याक चौंरी व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका शेर्पाका अनुसार चिसो छल्नलाई तोक्पेगोला छाडेका परिवारहरु पापुङ झरेका छन् । हिमाली भेग तोक्पेगोलामा चिसो अध्यधिक बढेपछि चिसोबाट जोगिनलाई त्यहाँका बासिन्दा तल्लो गाउँ अर्थात औलमा झरेका शेर्पाले बताउनुभयो ।

यस्तै घुन्सामा बसोबास गर्दै आएका दर्जनौ परिवारले गाउँ छाडिसकेका स्थानीय पेमा शेर्पाले बताउनुभयो । घुन्सामा करिव तीन दर्जन परिवारको बसोबास रहेको र चिसो बढ्न थालेसँगै चिसो छल्न यहाँका बासिन्दाको गाउँ छाड्ने क्रम जारी रहेको शेर्पाले बताउनुभयो । उहाँको परिवारले भने करिव एक महिना पहिले नै घुन्सा छाड्नुभएको छ । 

आफन्त भेटघाटका लागि भारत जानुपर्ने भएकाले केही समय अघि नै गाउँ छाडेको उहाँले बताउनुभयो । चिसो बढ्न थालेपछि घुन्साबाट भारत गएको र भारतमा आफन्त भेटघाटपछि अहिले काठमाडौं आएर बस्न थालेको शेर्पाले बताउनुभयो । चिसो मौसमभर काठमाडौमै बस्ने पनि उहाँले बताउनुभयो । चिसो छल्नका लागि घुन्सा गाउँ छाड्ने परिवार सदरमुकाम फुङ्लिङसहित काठमाडौं लगायतका ठाउँमा गएर बस्ने गर्दछन् ।

यसरी हरेक वर्ष चिसो मौसम अर्थात हिउँद याममा तोक्पेगोला, घुन्सा, फले र याङ्माका अधिकांस बासिन्दाले चिसो छल्न गाउँ छाड्ने गर्दछन् । चिसो छल्नका लागि गाउँबस्ती छाड्नेहरु कोठा भाडा तथा आफन्तको शरण लिएर बस्ने गरेका बताइएको छ । जाडो अर्थात हिउँद याम सकिएपछि फागुन महिनादेखि भने गाउँ छाड्नेहरु फर्कन थाल्दछन्।