मीना कंडेल
कावासोती, फागुन ३ गते । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइरालाले समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षालाई अङ्गाल्नुपर्ने अनिवार्य आवश्यकता रहेकोमा जोड दिनुभयो । लुम्बिनी आदर्श डिग्री कलेजको २४ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले कुनैपनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ राख्दैन, शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्दछ । व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ ।" उहाँले लुम्बिनी आदर्श डिग्री कलेजलाई अब पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने तथा आफ्नै गाउँठाउँमा भएको कलेजमा नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनसके अन्यत्र जानुपर्ने बाध्यता हट्ने भन्दै प्रविधिमैत्री शिक्षामा जोड दिनुभयो ।
त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्र ध्वज जी.सीले पढेका विषयहरूलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने शिक्षाको उपलब्धि अर्थपूर्ण मानिने बताउनुभयो ।
सोही समारोहमा स्वर्गीय मातापिताको नाममा अक्षयकोष स्थापना गरिएको छ । सिद्धार्थ आवसिय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज दाहाले पिता देवीलाल दाहाल र आमा देवी दाहालको नाममा एक लाख ५१ हजार रुपियाँको छात्रवृत्ति अक्षयकोषको घोषणा तथा डमी चेक हस्तान्तरण गर्नुभयो ।
दाहालले आफू शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले नगरपालिकाका ४० वटा विद्यालय, ५ वटा क्याम्पसमा सो कोष स्थापना गर्ने अभियानमा रहेको छ भने अहिले २२ वटा विद्यालय तथा २ वटा क्याम्पसमा स्थापना भैसकेको बताउनुभयो । त्यसैगरी, कावासोती २ निवासी हुमबहादुर गुरुङ र खगिसरा गुरुङले स्वर्गीय हाताल गुरुङ र सुनमति गुरुङको स्तुतिमा एकलाख एक सय पाँच रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । गुरुदत्त चापागाईँ र रेणुका चापागाईँले स्वर्गीय शशिधर चापागाईँ र नन्दिकला चापागाईँको स्तुतिमा दश हजार प्रदान गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने व्यतित्वलाई सम्मानसमेत गरिएको हो ।