• १३ असोज २०८१, आइतबार

गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

blog

निःशूल्क बीमाकाे कार्ड हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

राजकुमार भट्टराई

खोटाङ, फागुन ३ गते । खोटाङको साकेला गाउँपालिकाले चार सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले ७० वर्ष माथिका चार सय ७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले बस्तीमै पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले जानकारी दिनुभयो । स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट एक लाखसम्म औषधि उपचारमा छुट पाउनेसमेत व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने अध्यक्ष राईले बताउनुभयो । 

साकेला गाउँपालिका-१ बाँझेच्यान डाँडाका एक सय २ जना ज्येष्ठ नागरिक र ४ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, साकेला गाउँपालिका-२ रतन्छाका एक सय ३ जना ज्येष्ठ नागरिक, ५ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, साकेला गाउँपालिका-३ खिदिमाका २६ जना ज्येष्ठ नागरिक र ३ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिएको छ ।

यस्तै, साकेला गाउँपालिका-४ मात्तिमका ९८ जना ज्येष्ठ नागरिक, ४ जना पूर्ण अपाङ्गता भएका व्यक्ति तथा साकेला गाउँपालिका-५ मात्तिमविर्ताका ७८ जना ज्येष्ठ नागरिक र ५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । 

यसैबीच, साकेला गाउँपालिका भित्रका नागरिकलाई जटिल रोग लागेर अन्यन्त्र अस्पतालमा उपचारका लागि जानुपर्ने भएमा आउनेजाने र उपचार खर्च तथा कुरुवाको खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष राईले जानकारी दिनुभयो ।