• ८ मंसिर २०८१, शनिबार

सानो रकममै विद्यार्थीलाई ताजा, स्वच्छ र सफा खाजा

blog

नर्सरी र केजीका विद्यार्थीहरु दिवाखाजा खाँदै । तस्बिर : गोरखापत्र

बाबुराम शर्मा 

दोलाखा, फागुन ३ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयल सरकारले दिएको दिवाखाजाको सानो रकमलाई बुद्धिमतापूर्ण तरिकाले व्यवस्थापन गरी विद्यार्थीहरुलाई ताजा, स्वच्छ तथा सफा खाजा खुवाउन सफल भएको छ ।

अभिभावकहरुबाटै आफ्ना बच्चाहरुलाई ताजा, स्वच्छ तथा सफा दिवाखाजा खुवाउन थालेपछि सफल भएको प्रधानाध्यापक शङकरलाल श्रेष्ठले बताउनुभयो । ‘‘सरकारबाट प्रतिविद्यार्थी १५ रुपियाँ प्राप्त हुन्छ । यसले खासै खाजा खान पुग्दैन । प्रधानाध्यापक श्रेष्ठले भन्नु भयो, ‘‘सुरुमा विद्यालयबाट नै पकाएर खुवाउन थालियो । बच्चा अनुसारको स्वादमा खुवाउन सकिएन । १५ रुपियाँ बराबरको खाजा दिन क्यान्टिनको व्यवस्था गरियो । यसबाट पनि कसैलाई पिरो बढी, कसैलाई नुन घटी बढीको भएको गुनासो आएपछि सफल हुन सकेन ।’’ 

खाजा कार्यक्रक विफल भएपछि अभिभावकहरुको भेला बोलाएर विद्यालयले १५ रुपियाँ दिने र आआफ्ना बच्चाहरुलाई ताजा, स्वच्छ तथा सफा खाजा खुवाउन जिम्मा दिएको थियो । त्यसपछि बल्ल बच्चाहरुले आफ्नी आमाले बनाएको खाजा खान सुरु गरेको र सबैतर्फको व्यवस्थापन सफल भएको श्रेष्ठले बताउनुभयो । 

बच्चा हजिर भएपछि मात्र पैसा पाउने हुनाले अभिभावकले सँधै बच्चा पठाउन लागेका छन् । श्रेष्ठका अनुसार अहिले कसले बढी पैसा पाउने भन्नेमा होडबाजी चलेको छ । यसले बच्चा नियमित स्कुल आउने भएका छन् । आआफ्ना स्वाद अनुसारका खाजा ल्याउँछन्, खान्छन् । कुनै किसिमको गुनासो पनि छैन । प्रत्येक महिनामा एक मुस्ट पैसा लान्छन् । 

विद्यालयका नर्सरी र केजीका ४८, कक्षा १ का २३, २ का ३१, ३ का २९, ४ का ३५, ५ का ३२ र ६ का २२ गरी कुल २२० जनाले आआफ्नो आमाको हातबाट बनेका ताजा, स्वच्छ तथा सफा खाजा खान पाएका छन् ।