• ९ मंसिर २०८१, आइतबार

उद्यमशीलताबाट समृद्धि

blog

नेपालमा बेरोजगारी समस्या दिनानुदिन बढ्दो छ। झन्  कोभिडपछि श्रम बजारमा सङ्कुचन आएको छ। कैयौँ श्रमिक बेरोजगार हुन पुगेका छन्। आगामी दिनमा विश्वको अर्थतन्त्र दबाबमा पर्ने बताइरहे पनि कतिपय देशले उत्पादन र उत्पादकत्व बढाइरहेको पाइन्छ। हामीकहाँ पनि स्थानीय तहमा उत्पादन हुने अनाजदेखि उत्पादित तेल, साबुन, बेसार, गाँजा र अल्लोका कपडाबाट बनेका झोला, कोट आदि वस्तु खरिद गरी उद्योगलाई प्रश्रय दिनुपर्छ। स्थानीय तहले पनि यस्ता उत्पादन हुने उद्योग स्थापना गर्न र गर्नेलाई प्रोत्साहित गर्दा उद्यमशीलताको विकास हुने भएकाले अहिले यसलाई प्रश्रय दिन थालिएको छ।

अर्थोपार्जनजन्य उद्यमशीलता

अहिले दिलमाया घर्ती बत्ती कात्ने गर्नुहुन्छ। कातेका बत्तीहरू पूजा पसलमा दिनुहुन्छ। पसलेले रुई दिन्छन् र बत्ती कातेबापत प्रतिसयका दरले पाँच रुपियाँ दिन्छन्। दिनमै झन्डै दुई हजार/पच्चीस सय जति बत्ती कात्नुहुन्छ। आजभोलि उद्योगीहरूले सुपारी किसानका बोटबाट झरेका पात घरघरै पुगेर किनिदिन्छन्। त्यसबाट धेरै कडा प्रकृतिका सानादेखि ठूला आकृतिका थालीहरू बन्छन्। झापाकी देवी ज्ञवालीले त्यस्तै खाले सानो उद्यम सुरु गर्नुभएको छ। त्यहाँ साल र भोर्लाका दुना र टपरीहरू बन्छन्। यसमा वरिपरिका छिमेकीलाई फुर्सद मिलाएर काम गर्ने अवसर मिलेको छ। उद्योगले उद्यमी महिलालाई प्रतिटपरी ५० पैसा दिन्छ। उद्योग बिहान ११ पछि साँझ ५ बजेसम्म चल्छ। झन्डै एक जनाले पाँच सय रुपियाँभन्दा माथि नै बनाउँछन्।

अगरबत्तीका सट्टामा नेपाली कागजयुक्त अगरबत्ती उपयोग हुन थालेको छ। केही युवाले त्यसको उद्योग खोल्नुभएको छ। उहाँहरू यस्ता वस्तुको माग धेरै भएकाले उत्पादनले माग धान्न सकेको छैन भन्दै हुनुहुन्छ। नवलपुरका भेषराज गाहाले फलपूmलको नर्सरीसहित बाह्रमासे सयपत्री फूल खाली रहेको १० कट्ठा जमिनमा लगाउनुभयो। सुरुमा उहाँलाई धेरैले आलोचना गरे। तिहारमा उहाँले मनग्गे पैसा कमाउनुभयो। पछिल्ला दिनमा पनि धार्मिक अनुष्ठान र विभिन्न किसिमका कार्यक्रममा पूmलको माग भइरहेको छ। उहाँ आफ्नो उत्पादनले नपुगेर चितवनबाट पनि पूmल मगाएर ल्याउनु परिरहेको हुँदा खेतीपाती नहुने खोल्साका डिल र आलीमा पनि फूल रोपेको बताउनुहुन्छ।

केही उद्यमीहरूले मधुर स्वाद दिने प्रकृतिका कलमी आँप, अम्बा, केरा लगाउनुभएको थियो। त्यसले पनि राम्रै उत्पादन र प्रतिफल दिन थाल्यो। कतिपय क्षेत्रमा खाली जमिन थिए। त्यसमा नगदे बालीहरू लगाउन थाल्नुभयो। पहिलेदेखि खेलौँना, हस्तनिर्मित सुन्दर उपहार आदि इत्यादिसँग सम्बन्धित उद्योगहरू थिए। अझ त्यसको माग बढ्दै गएपछि अरू पनि उद्योग थपिन थाले। जडीबुटीसँग सम्बन्धित सम्भावनाहरू धेरै छन्। दूषित आहारविहार, चिन्तनधारा, एलोप्याथिक ओखती सेवन गरिहाल्ने चलन आदिका कारण पनि मानवीय जीवन रुग्ण बन्दैछ र धरापमा पर्दै गएको छ।

योगासन, प्राणायाम, परम्परागत सुआहारा र आयुर्वेदिक ओखतीबाट त्राण मिल्न सक्छ भन्ने धारणा जनमानसमा पनि बन्दैछ। यसर्थ पनि अहिले त्रिफला चूर्ण, तुलसी चूर्ण, पुदिनाचूर्ण, बोझो, खयर आदिजस्ता सरल रूपमा बन्न सक्ने पथ्य बनाएर उद्यम गर्न थालिएको छ। रामबहादुर बोहराले बोरा–बोरामा आयात हुने ल्वाङ, सुकुमेल, अलैँची, काजु, ठूला खालको आल्मन्ड बदाम, पेस्तालाई ससानो एकाइमा रूपान्तरण गर्ने उद्यम थाल्नुभयो। ठूलो मात्रामा किन्न नसक्ने ग्राहक आकर्षित भए ससाना प्याकिङ्मा। दूरदूरसम्म व्यापार राम्रै भयो। उहाँको प्रगति देखेर केहीले जिरा, धनियाँ, दाल, दलहन, वीरे नुन, सिरे नुन आदि इत्यादिका प्याकेजिङ गर्न सुरु गर्नुभयो। अहिले उहाँहरू पनि लाभमा नै परिणत भइरहनुभएको छ।

तितौरा, मस्यौरा, सिन्की, गुन्द्रुकको गुणस्तरीय उत्पादन गर्ने राम भाइ पनि सफल भइरहनुभएको छ। यो पनि त खाद्यसँग जोडिएको उद्यम हो तर ती उत्पादन तिथिमिति र गुणस्तरयुक्त पनि हुनुपर्छ। यस्तै उद्यम चल्न सक्छ मिठाइजन्य पनि। सर्वप्रथम सारा उद्यम कृषि उत्पादकत्वसँग जोडिएको हुनुपर्छ। कृषिजन्य वस्तुमा हामी बन्ने गरी नयाँनयाँ उद्यम थाल्नुपर्छ। अहिलेका किशोरकिशोरी चाउमिन, मःमः, पानीपुरी खुबै मन पराउँछन्। उस्तै परे खानाका सट्टामा पाए झन् रमाउँछन्। घरैबाट त्यस्तो बुझेका श्यामबहादुरले चाउमिन र पानीपुरी उद्यम खोल्नुभयो। सुरुमा घरका सबैमा रोजगार व्यवसाय बढ्दै गएपछि छिमेकीहरूले रोजगारी पाउन थाले। धनमायाले क्याम्पस पढ्दापढ्दै तानमा घरेलु कपडा बुन्न, टोपी बनाउन र कपडा सिलाउन पनि सिक्नुभयो र पछि आफैँ घरेलु उद्यमी हुनुभयो। 

चूडामणि कोइरालाले पनि ग्रिल उद्योग खोल्नुभएको छ। त्यहाँ छ/सात जना युवा काम गर्नुहुन्छ। कतिपय सिक्न आउनुभएको हो। उहाँहरू राम्ररी सिकेर जानुहुन्छ। कसैले त्यस सीपलाई वैदेशिक रोजगारीमा उपयोग गर्नुहुन्छ। कसैले आफैँ उद्योग खोलेर सेवा दिन थाल्ने गर्नुभएको छ। आफैँ खोल्न आर्थिक समस्या भएकाहरूले अरूका उद्योगमा मिस्त्री भएर जीविका चलाउने गर्नुभएको छ। चूडामणिले आपूm पनि बाँच्ने र अरूलाई पनि बचाउने उद्देश्यले खोलेको उद्यमले धेरैलाई ज्ञान र सीप दिइरहेको छ। त्यसो त काजीमान तामाङले पनि भर्खरै सैलुन केन्द्र खोल्नुभएको छ। पहिले मान्छेले पत्याएनन्। पछि दुई चार जना बच्चालाई कपाल काटिदिएको देखेपछि उहाँकहाँ केस–दाह्री बनाउन आउनेको ओइरो लाग्न थाल्यो। त्यसबाट प्रभावित अरू युवाले पनि ठाउँठाउँमा सैलुन खोल्नुभएको छ। उहाँहरूको जीवनस्तरमा परिवर्तन आउन थालेको सहजै देखिएको छ।

नवलपुरका रेवती उपाध्यायले पनि पाँच कट्ठा जमिनमा तरकारी खेती सुरु गर्नुभयो। उहाँको अर्गानिक तरकारीले राम्रै भाउ पायो। उहाँले आधाजति जमिनमा मेवा लगाउनुभएको छ। आधा जतिमा कागती लगाउनुभएको छ। लामो समयदेखि खाली रहेको अरू पाँच कट्ठामा भाडा तिरेर खेती गर्नुभएको छ। आधामा भुइँकटहर र आधामा ड्रागन फल लगाउनुभएको छ। सुरु सुरुमा धेरैले आलोचना गरे पनि तर उहाँ आत्तिनुभएन। जब त्यसले फल दिन थाल्यो, बल्ल अरूले पनि उहाँको सिको गर्न थाले। 

थम्मनसिंह रजालीले कृषिलाई व्यावसायीकरण गर्नुभयो र उहाँ एउटा सफल उद्यमी बन्न सफल हुनुभयो। उहाँले धेरैलाई रोजगारी मात्र दिनुभएको छैन, निःशुल्क परामर्श पनि दिएर अरूलाई कृषिकर्मतिर आकर्षित गरिरहनुभएको छ नवलपुरमा। उहाँ यसमा प्रचुर सम्भावना देख्नुहुन्छ। पहिला गाईभैँसी, बाख्रा र कुखुरा हरेकका घरमा हुन्थे। कसैका घरमा पनि दूधदही टुट्दैन थियो। दशैँका लागि खसीबोकाहरू घरैमा हुन्थे। धेरै भए सहरतिर लगेर बेचिन्थ्यो र दशैँका लागि नाना, खाना र दक्षिणाको जोहो गरिन्थ्यो। करिब आज परिवर्तन भइसक्यो यो चलन र व्यावसायिक रूपमा नै रुचिअनुसार बाख्रापालन, गाईपालन, भैँसी, कुखुरापालन आदि गर्न थालिएको छ। धेरैले बोइलर कुखुरा पालेर मुनाफा कमाइरहेका छन्। बर्डफ्लु लागेर धेरै कुखुरा सखाप भएपछि केही उद्यमी हतोत्साही भए पनि राहत पाएकाहरू फेरि उही लयमा फर्किएका छन्। 

स्वावलम्बनमूलक उद्यमशीलता

अहिलेका कतिपय पछिल्लो पुस्ता व्यावहारिक सीपमा अनभिज्ञ छन्। यसमा पनि ठूला सहरमा बस्ने, अभैm भन्दा होस्टलमै हुर्किएका, अझै साँघु¥याएर भन्दा विदेश जान सानैमा आफ्ना बाबुनानीलाई होस्टल लगेर राखिएकामा मानिसमा नभई नहुने कतिपय दया, माया, करुणा, हार्दिकता, सहयोग, सद्भाव, भाइचारा, त्याग, भक्ति आदि आधारभूत गुणहरू भेट्न कठिन भएभैmँ केही सीपबाट पनि वञ्चित छन्। छोरा हुन् वा छोरी, दुवैलाई तरकारी लगाउने सीप सिकाउनुपर्छ। तरकारी केलाउनेदेखि खाना पकाउने, अचार बनाउने, भान्सामा उपयोग हुने सबै औजार उपयोग गर्ने, नाच्ने, गाउने, बाजा बजाउने, हिँड्ने, कोसँग कसरी बोल्ने, सामूहिक कार्य कसरी गर्ने, उपासना, व्रत, पूजा आदि सीप आवश्यक हुन्छन्। खाना पस्कने, पानी दिने तरिकाबारे प्रशिक्षित तुल्याउनुपर्छ। 

परामर्शमूलक उद्यमशीलता

वर्तमानमा खाद्यान्न दूषित छ। यसको असर बच्चाको सोच, चिन्तन र आचार–विचार खस्कँदो गतिमा छ। प्रायःमा नकारात्मक धारणाले घर गर्दै छ। त्यसमा पनि प्रविधिको लतले झनै एकान्तप्रिय हुने, कसैसँग बोल्न नचाहने, कसैसँग परिचित हुन नखोज्ने, ठूलासँग छेउ नै नपर्ने, छेउ परिहाले पनि एक मिनेट पनि टिकेर बस्न नसक्ने, संयुक्त परिवारमा बस्न नसक्ने, अरूका कुरा धैर्यसँग सुन्न र मनन गर्न नसक्ने, अरूको हितमा आपूmलाई जोड्न नसक्नेजस्ता कैयौँ अवगुण देखिने गरेका छन्। नीति र विधि बनाउनेसँग सम्बन्धित उद्यमशीलताको पनि सम्भावना छ यहाँ। उत्पादनमूलक उद्योग र कृषि व्यवसायलाई माथि उकास्न वित्तीय सहयोग गर्ने, योजना निर्माण गर्नेसँग सम्बन्धित उद्यमशीलता, विश्वविद्यालय र निजी क्षेत्रको साझेदारीमा मुलुकमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने शिक्षासँग सम्बन्धित, शिक्षालाई उद्यमसँग जोड्ने किसिमका उद्यमशीलता, होमस्टेको व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित उद्यमशीलता उपयोगी हुँदै गएका छन्।

यसैगरी स्थानीय गुन्द्री, चकटी, डोरी, मचिया, ढकिया, खटिया, ढडिया, जाल बनाउने सीपसँग सम्बन्धित उद्यमशीलता, ज्योतिष परामर्श उद्यमशीलता, कर्मकाण्ड सेवा, धार्मिक प्रवचन, कीर्तन, झाँकी प्रस्तुति आदिसँग सम्बन्धित उद्यमशीलता, स्थानीय तहमा रहेका सीमसार, तालतलैया, मठमन्दिर प्राकृतिक तथा जैविक विविधताजन्य पर्यावरणीय उद्यमशीलता पनि मुलुकका निम्ति फलदायी हुँदै गएको छ अहिले। अरू पनि थुप्रै उद्यम आरम्भ भएका छन् हाम्रा समाजमा; जसले मुद्रा आर्जन गरी स्वावलम्बी बन्नेदेखि स्वदेशी पुँजीलाई स्वदेशमा नै प्रवाह गरी मुलुकलाई समृद्ध बनाउन सक्छन्।