• १३ साउन २०८१, आइतबार

पर्यटकीय क्षेत्रको विकासमा सरकार अग्रसर छ : मन्त्री शर्मा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, माघ २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकासका लागि वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ । मन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको पर्यटकीय क्षेत्र छिल्लीकोटमा निर्माण गरिएको नेपाल टेलिकम टावरको आज आइतबार निरीक्षण गर्दै सो कुरा बताउनुभएको हो । उहाँले सेवा विस्तार नभएका दुर्गम क्षेत्रमा टेलिकमको सेवा विस्तार गर्दै लैजाने बताउनुभयो । 

यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मन्त्री शर्माले ऐतिहासिक स्थल छिल्लीकोटको विकास र विस्तारमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनुभयो । निर्वाचन प्रतिस्पर्धा मात्रै भएकाले अब विकासमा सबै अग्रसरतापूर्वक लाग्नुपर्ने उहाँको भनाइ छ । मन्त्री शर्माले यस क्षेत्र धार्मिक, पर्यावरणीय क्षेत्रको दृष्टिकोणले समेत महत्त्वपूर्ण भएकाले ती क्षेत्रको विकासमा बजेटको सुनिश्चितता गरिने बताउनुभयो ।  

तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा निर्माण गरिएको टेलिकमको सेवा सञ्चालन भएसँगै सल्यानको कपुरकोट गाउँपालिका, रोल्पाको रुन्टीगढीसहित घोराहीको क्षेत्रमा समेत सञ्चारको पहुँच पुगेको छ । उहाँले ऐतिहासिक महत्त्व राखेको छिल्लीकोटको धार्मिक, पर्यटन, पर्यावरणको विकासमा विशेष ध्यान दिने बताउनुभयो । 

इतिहासकालीन दरबार क्षेत्रको उत्खननका लागि पुरातत्त्व विभागसमक्ष ध्यानाकर्षण गराइने उहाँले बताउनुभयो । छिल्लीकोटको क्षेत्रमा इतिहास लेखन गर्नुभएका नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर शर्मा मजगैयाले छिल्लीकोट दरबारको उत्खनन गर्न आग्रह गर्नुभयो । साथै छिल्लीकोट धार्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।