• १८ असार २०८१, मङ्गलबार

सर्लाहीमा सवारी चार्जिङ स्टेशन सञ्चालन

blog

हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट विद्युतीय सवारी चार्ज गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ २९ गते । सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका –११, खसीबजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । 

ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारी सञ्चालन गर्ने सवारीधनी लाभान्वित भएका छन् । 

चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक शिव अधिकारीका अनुसार चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन् । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने अधिकारीले बताउनुभयो । 

दुईवटा चार्जिङ स्टेसनबाट एक पटकमा छ वटा सवारी चार्ज गर्न मिल्छ । चार्जिङ स्टेसनमा २०० केभीएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जीवकुमार साहले बताउनुभयो । 

चार्जिङ स्टेसनमा सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । 

मानवरहित चार्जिङ स्टेसनमा सेवाग्राहीले सोझै अनलाइनबाट भुक्तानी गर्ने र कुनै प्राविधिक समस्या आए आफूहरूले काठमाडौँबाटै अनलाइनमार्फत नै मर्मतको काम गर्ने चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक अधिकारीले बताउनुभयो । उहाँका अनुसार ग्राहकले अनलाइनमार्फत बुझाएको पैसा सोझै नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा हुन्छ । 

चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क समेत निर्धारण गरेको छ । साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिकआवरमा प्रतियुनिट १० रुपियाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपियाँ ६० पैसा र बाँकी समयमा रिचार्ज गर्दा प्रतियुनिट आठ रुपियाँ २८ पैसा शुल्क निर्धारण गरिएको छ ।