धार्मिक, सामाजिक, कानुनी, पारिवारिकलगायत कुनै पनि दृष्टिकोणबाट आत्महत्यालाई उपयुक्त मान्न सकिँदैन। आफैँले आफूलाई नामेट पार्ने यो विषय त खासमा चर्चा गर्नसमेत लायक विषय होइन तर अहिले यो विषय चर्चा नगरी नहुने नै समय आएको छ। यो प्रवृत्ति भनौँ वा अपराधमा विराम लगाउने सम्पूर्ण यत्न गरिनु जरुरी छ। नेपालमा आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणमा विभिन्न प्रयास गरिँदागरिँदै पनि यसमा खासै कमी आएको पाइएको छैन र यो असाध्यै चिन्ताको विषय हो। प्रहरीका अनुसार नेपालमा औसत दैनिक १८ जनाले आत्महत्या गरिरहेका हुन्छन् अर्थात् वार्षिक रूपमा पाँच हजारभन्दा बढी महिला, पुरुष तथा बालबालिका आत्महत्या गर्ने स्थितिमा पुग्दछन्। आत्महत्याले परिवार र समाजमै ठूलो विचलन ल्याउने गरेको छ। यसलाई रोक्न सबै खालका प्रयास गरिनुपर्ने अवस्था आएको छ।
नेपालमा मात्र होइन, विश्वका कुनै पनि समाजमा आत्महत्यालाई जायज मानिँदैन तर कतै पनि रोकिन सकेको छैन। विश्वमा बर्सेनि सात लाखभन्दा बढी मानिसले आत्महत्याको दुरुह बाटो रोज्ने गरेको तथ्याङ्क छ। सबैलाई आफ्नो ज्यानको माया हुन्छ तर पनि आर्थिक समस्या, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक सञ्जालको दुरुपयोग, लागूपदार्थको सेवन, सामाजिक समस्यालगायत विभिन्न कारणले मानिसका निम्ति आत्महत्याको कुरूप बाटो देखा पर्ने गर्दछ। असाध्य खालका रोग तथा यसबाट उत्पन्न हुन सक्ने सामाजिक बहिष्कारको विषयले पनि मानिसलाई आत्महत्यातिर डो-याउने अवस्था ल्याउने गर्दछ। मानिसका जीवनमा आइपर्ने विभिन्न समस्या भए पनि आत्महत्या गर्ने व्यक्तिको मुख्य समस्या मानसिक समस्या नै हो। स्वस्थ मानसिक अवस्था भएको मानिसका निम्ति आत्महत्याको सोच निकै टाढाको विषय हुन्छ। जस्तै कठिन अवस्थामा पनि मानव सङ्घर्ष गरेर बाँच्नुपर्ने हुन्छ, बाँचिरहेकै छन्। समग्रमा ९५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको विज्ञहरूको भनाइबाट प्रमाणित गर्दछ।
व्यक्तिको आत्महत्याका कारण परिवार, समाज तथा राष्ट्रलाई नै निकै ठूलो क्षति पुगिरहेको हुन्छ। यस अवस्थामा आत्महत्याको रोकथाम तथा न्यूनीकरण पनि सबैको प्राथमिकताको विषय बन्नुपर्ने आवश्यक देखिन्छ। आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणका निम्ति राज्यका विभिन्न निकाय तथा आमसर्वसाधारणबीच महत्वपूर्ण निकट सम्बन्ध स्थापना हुनु जरुरी छ। आत्महत्या रोकथामका निम्ति जीवन जिउने तरिका, यसको प्रचारप्रसार तथा सचेतना पनि त्यत्तिकै महत्वपूर्ण छन्। समस्या पार लगाउने सीप र शैलीको प्रसार आवश्यक छ। सरोकार निकायले यसमा प्रयास गरेका छन्। प्रहरीले स्थानीय तहसँग मिलेर आत्महत्या न्यूनीकरणका निमित्त अभियान नै सञ्चालन गरे पनि यसबाट अपेक्षित परिणाम पाउन सकिएको छैन। यसैगरी मानसिक स्वास्थ्य अवस्था ठीक नभएका व्यक्तिलाई मनोचिकित्सा सेवा प्रदान गर्न राज्यले उल्लेखनीय भूमिका खेल्नुपर्ने आवश्यक देखिएको छ। यस प्रकारका सेवा नेपालमा तुलनात्मक रूपमा कम रहेको यथार्थ हो। सामाजिक जटिल अन्तरसम्बन्ध र आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनसमेत राज्य संवेदनशील हुनैपर्छ।
सञ्चारमाध्यममा आत्महत्याका घटनालाई निकै बढाइचढाइ गर्ने प्रवृत्ति देखिएको विषय समीक्षा गरिनुपर्छ। सञ्चारमाध्यमहरूले आत्महत्या रोकथामका निम्ति प्रयास गर्नु सार्वजनिक दायित्व हो। सञ्चारमाध्यम समाज परिवर्तनका वाहक बन्न सक्छन् तर आत्महत्याका घटनालाई अतिरञ्जित तवरले प्रस्तुत गरेर सञ्चारमाध्यमको वास्तविक उद्देश्य पूरा हुँदैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक विभागले गरेको आत्महत्यासम्बन्धी अध्ययन तथा सञ्चारमाध्यमको भूमिकाको निष्कर्षले सञ्चारमाध्यमको भूमिकामा परिवर्तन आउनु जरुरी देखिएको छ। कानुनले समेत अपराध मानेको आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आउनु आफैँमा दुर्भाग्यपूर्ण हो। यस्तो स्थिति निर्माण हुन नदिन आर्थिक, सामाजिकलगायत हरेक पक्षमा राज्यको सकारात्मक भूमिका निकै महत्वपूर्ण हुने गर्दछ। आत्महत्याको कारक मानसिक स्वास्थ्यलगायतका कारणसमेत भएकाले यसका निम्ति उपयुक्त सेवाको विकास गरिनु महत्वपूर्ण हुन आउँछ। प्रभावकारी जनचेतना पनि आत्महत्या न्यूनीकरणमा सहयोगी हुन सक्दछ। यस्तै सञ्चारमाध्यमले आत्महत्या घटना रोकथाम तथा न्यूनीकरणमा आफ्नो महत्वपूर्ण भूमिकालाई प्रभावकारी बनाउनुपर्छ। मानव जीवन अनुपम वरदान हो र यसलाई सबै तवरले सफल बनाउन आत्महत्याजस्तो अनपेक्षित र स्वअपराधको मार्गमा विराम वाञ्छनीय छ।