• १६ असार २०८१, आइतबार

चिसोले कठ्याङ्ग्रिएकालाई न्यानो कपडा वितरण

blog

टेक्सस(अमेरिका) माघ २६ गते । हिमपातपछि टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा बढेको चिसोका कारण आकासे पुल मुनि कठ्याङ्ग्रिएर बस्न बाध्य भएका  ५९ वर्षीय रोवर्टले मङ्गलबार न्यानो कपडा प्राप्त गरेपछि  खुसीको कुनै सीमा नै  थिएन ।

यसरी न्यानो कपडा उपलब्ध गराउने अरु नभएर नेपाली मूलका  व्यक्ति थिए ।  पाँचथरको विकट बस्ती यासोकबाट  ३५ वर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका देवी डेभिड  आचार्यले न्यानो कपडा उपलब्ध गराएका हुन । आचार्य एचडिएनपी इन्टरनेशनलका प्रमुखका हैसियतले  रोवर्टलाई न्यानो कपडा उपलब्ध गराएका थिए । यसरी  रोवर्टले न्यानो कपडा पाउनासाथ भनेका थिए गड वेल्स यु (भगवानले तपाईलाई आशिर्वाद दिनुहुन्छ) ।

टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा  विगत दुईसाता देखि हिमपात पश्चात सेल्टर तथा आकासे पुल मुनि बसेका हामी होमलेसहरूको जीवन निकै कष्टकर बनिरहेको छ ।  केही न्यानो कपडा पाएपछि निकै राहत  महसुस भएको  रोबर्टले बताए ।   

यस्तै टेक्ससको ड्यालस क्षेत्रका अर्का ५३ वर्षीय घरबार विहीन महिला लोरीले हरेक वर्ष चिसो मौसमको समयमा आफूले एचडिएनपी ईन्टरनेशनल र प्रमुख देवी डेभिड आचार्यलाई सम्झिने गरेको बताउँछिन् ।

यसपालि पनि एचडिएनपी इन्टरनेशनलले चिसोको समयमा आफूलाई न्यानो कपडा, सिल्पिङ ब्याग, सिरानी दिएर गुन लगाएको लोरीकोा भनाइ थियो  । यस्तै फोर्ट वर्थ डाउन टाउन क्षेत्रका घरबार विहीन महिला क्याथी एचडिएनपी ईन्टरनेशनलका प्रमुख देवी डेभिड आचार्यलाई घरबार विहीनको अभिभावक भएको धारणा व्यक्त गरिन । 

रोबर्ट, लोरी र क्याथी मात्रै होइन ड्यालस र फोर्टवर्थ क्षेत्रका सयौँ घरबार विहीनहरू एचडिएनपी इन्टरनेशनलको कामको मुक्तकण्ठले  प्रशंसा गर्ने गरेका छन् । । 

एचडिएनपी इन्टरनेशनलको तथ्याङ्क अनुसार गत  क्रिसमस, नयाँ वर्षको अवसरमा ५ सय घरबार विहीनहरुलाई ब्लाङकेट, सिल्पिङ ब्याग, सिरानी, न्यानो लुगा र खाना वितरण गरिएको थियो ।  एक साता अघि परेको हिमपातको समयमा  ड्यालस फोर्टवर्थ क्षेत्रका महिला, वृद्ध र अशक्त घरबार विहीनहरुलाई पहिचान एक सय बढी ब्लाङकेट, सिल्पिङ ब्याग, सिरानी, न्यानो लुगा र खाना वितरण गरिएको सो संस्थाले जनाएको छ । 



अमेरिकामा   मानिसहरू विभिन्न कारणले घरबार विहीन  अवस्थामा  पुग्ने गरेका छन् ।  सरकारी तथ्याङ्क अनुसार सन २०२२ मा टेक्ससको ड्यालस फोर्ट वर्थ क्षेत्रमा मात्रै करिब ५ हजार होमलेसहरू रहेका छन् । उनीहरूको जीवन निकै कष्टकर हुने गर्दछ । त्यसैले आफ्नो संस्थाले घरबार विहीनहरूलाई लक्षित गरी विगत एक दशक अघिदेखि  राहत मूलक कामहरू गदै आएको संस्थाका प्रमुख देवी डेभिड आचार्यले बताउँछन् 

पाँचथरको विकट बस्ती यासोकबाट  ३५ वर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका आचार्यको अगुवाइमा हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल ईन्टरनेशनल (एचडिएनपी अन्तर्राष्ट्रिय) नामक सामाजिक संस्था स्थापना गरी सञ्चालनमा रहेको छ । 

आचार्य भन्छन् एचडिएनपी अन्तर्राष्ट्रियसँग न सरकारी बजेट छ न गैरसरकारी बजेट । आफूहरूले हरेक वर्ष गला कार्यक्रमको आयोजना गरेर आफूले गर्न लागेको कार्यक्रमको बारेमा स्थानीय सरोकारवालाहरू, शुभचिन्तकलाई जानकारी गराई फण्ड अर्थ सङ्कलन गर्ने गर्दछौं । संस्थाले सङ्कलन भएको रकमबाट घरबार विहीनहरूलाई  लागि योजना बनाई खर्च गर्ने गर्दछ । 

एचडिएनपी अन्तर्राष्ट्रियले सङ्कलित बजेटबाट अमेरिकाको टेक्सस मात्र होइन नेपाल र अफ्रिकाको घानामा समेत सानातिना परियोजनाहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको  छ ।

एचडिएनपी अन्तर्राष्ट्रियले गरेको कामको टेक्ससका स्थानीय सरोकारवालाहरूले पनि मन पराएका छन् । अमेरिकाको टेक्सस राज्यका गभर्नरले एचडिएनपी अन्तर्राष्ट्रियको काम उत्कृष्ट भन्दै संस्थाका प्रमुख आचार्यलाई गत वर्ष पुरस्कृत समेत गरेको थियो