• १६ असार २०८१, आइतबार

‘अध्यक्ष भएमा सङ्गठनलाई चलायमान बनाउँछु’

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २५ गते । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष झपिन्द्र खत्रीले आगामी निर्वाचनबाट आफू सङ्गठनको अध्यक्षको जिम्मेवारी पाएमा सङ्गठनलाई चलायमान र गतिशील बनाउने दाबी गर्नुभएको छ । आफूसँग सङ्गठन सञ्चालनको ज्ञान र क्षमता दुवै भएकाले त्यस्तो दाबी गरेको उहाँको भनाइ छ ।

गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्दै अध्यक्षका उम्मेदवार खत्रीले भन्नुभयो, “यसअघि पाटन संयुक्त क्याम्पसको स्ववियू सभापति भएर काम गरेको अनुभव छ, स्ववियू काउन्सिल सचिवको जिम्मेवारी सफलतापूर्वक बहन गरेको छु, अखिल र स्ववियू दुवै ठाउँमा काम गरेर अनुभव सङालेको छ, त्यसैले मलाई सङ्गठन चलायमान बनाउन समस्या हुँदैन ।”

अध्यक्षका प्रत्याशी खत्री अहिले पाटन संयुक्त क्याम्पसका स्ववियु सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तै, २०६५ मा स्ववियु सभापतिमा निर्वाचित भएर काम गर्नुभएको थियो । २०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर त्रिविविमा काम गरिसक्नुभएको छ । 

आफू निर्वाचित भएमा सङ्गठनलाई वैचारिक सङ्गठनको रूपमा रूपान्तरण गर्ने उहाँको प्रतिबद्धता छ । सङ्गठनलाई प्रविधियुक्त बनाउने र सङ्गठन निर्माणमा आफूले ध्यान दिने उहाँले बताउनुभयो । 

अनेरास्ववियूको सङ्गठन विभाग प्रमुख समेत रहनुभएका खत्रीले यसअघि सङ्गठनको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष पछि अहिले उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । आफू निर्वाचित भएमा सङ्गठनलाई वैचारिक सङ्गठनको रूपमा रूपान्तरण गर्ने उहाँको प्रतिबद्धता छ । सङ्गठनलाई प्रविधियुक्त बनाउने र सङ्गठन निर्माणमा आफूले ध्यान दिने उहाँले बताउनुभयो । 

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २३ औँ महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । त्यसका लागि प्रत्याशीहरू चार जना देखिनुभएको छ । अध्यक्षको प्रत्याशी सङ्ख्या बढेपछि अहिले उहाँहरू आफ्नो एजेण्डा र क्षमता प्रदर्शनमा जुट्नुभएको छ । 

पार्टीका शीर्ष नेतृत्वलाई मनाउन सकिए अध्यक्षमा निर्वाचित हुन पनि सहज हुने बुझाइका कारण उहाँहरू सबै अहिले सो अभियानमा लाग्नुभएको छ । सँगसँगै सङ्गठनमा आबद्ध विद्यार्थीहरूलाई आफ्नो पक्षमा पार्न पनि प्रयासरत रहनुभएको छ । 

एमालेको प्रभावशाली सङ्गठनमध्ये पर्ने अनेरास्ववियुको नेतृत्व हात पर्न सके भोलिको राजनीतिक बाटो पनि सहज हुने बुझाइले विद्यार्थी नेताबीच नेतृत्वका लागि हानथाप हुने गर्छ । महाधिवेशनमा एक हजार पाँचसय ७९ प्रतिनिधि आउने सङ्गठनले जनाएको छ । 

अहिलेसम्म अध्यक्षका प्रत्याशीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष खत्री, अर्का उपाध्यक्ष लोकेश निरौला र अहिलेका महासचिव समिक बडाल देखिनुभएको छ । यसअघि २०७२ सालमा अनेरास्ववियूको २२ औँ महाधिवेशन भएको थियो । सात वर्षपछि हुन लागेको २३ औँ महाधिवेशनमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने आङ्कलन विद्यार्थी सदस्यले गरेका छन् ।