• १२ असोज २०८१, शनिबार

पाथिभरा याङवरक र मिक्लाजुङ विजयी

blog

बुधबार भएको खेलमा प्रतिस्पर्धा गर्दै पाथिभरा याङवरक ताप्लेजुङ र चुलाचुली इलामका खेलाडी। तस्बिरः गोरखापत्र

राधा लुइटेल

फिदिम, माघ २५ गते। पाँचथरको फिदिम नगरपालिका ६ सिवामा जारी तेस्रो आमन्त्रित पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता अन्तरगत तेस्रो दिनको खेलमा पाथिभरा याङवरक गाउँपालिका (ताप्लेजुङ) र मिक्लाजुङ गाउँपालिका पाँचथर विजयी भएका छन्।

बुधबार दिउँसो भएको खेलमा प्रतिस्पर्धी चुलाचुली गाउँपालिका इलामलाई २५–१४, २५–१६ र २५–२२ को सोझो सेटमा हराउँदै पाथिरा याङवरक गाउँपालिका दोस्रो चरणमा प्रवेश गरेको हो।

उक्त खेलमा पाथिभरा याङवरकका अमृत थेबे म्यान अफ दि म्याच बन्नुभयो। उहाँले दुई हजार रुपैयाँ नगद पाउनुभएको छ। यस्तै बुधबारकै लागि निर्धारित दोस्रो खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका भलिबल टिम अनुपस्थित भएपछि पाँचथरको मिक्लाजुङले वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको हो।

फिदिम ६ सिवामा लाग्ने अर्थे मेलाका अवसरमा अर्थे युवा क्लबले अन्तर पालिका स्तरको भलिबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा पाँचथर, ताप्लेजुङ, इलाम, भोजपुर र तेह्रथुमका १० टिम सहभागी छन्। २८ गते हुने फाइनल खेलका विजेताले नगद ७० हजार पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।