• १६ असार २०८१, आइतबार

धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु

blog

निशा राई

धरान, माघ २५ गते । “घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।  दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष धरान उपमहानगरपालिकामा प्रदेश १ का उद्योग कृषि तथा सहकारी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले बुधबार उद्घाटन गर्नुभयो ।

उहाँले फूल सुख दुःख दुवैमा चाहिने भएकाले यसको प्रवर्धन र व्यावसायिक रूपमा अगाडि बढाउन सके नेपालमै करोडौँ आम्दानीको स्रोत हुने भएकाले पुष्पखेतीको प्रवर्धन र विकासका लागि बर्सेनि अनुदान दिँदैआएको बताउनुभयो । 

अनुदानका लागि पुष्पखेतीका कृषकहरूले पुष्पखेती व्यावसायिक रूपमा गर्दैछौं भनी जानकारी दिन आग्रह गर्दै पुष्पखेतीलाई प्रवर्धन र विकासका लागि सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

प्रदेश १ का सांसद रमेशकुमार बस्नेतले आफ्नै ठाउँमा पर्याप्त फूल उत्पादन गर्न सकेमा बाहिरबाट फूल आयात गर्न नपर्ने चर्चा गर्नुभयो । फ्लोरीकल्चर एसोसिएसन सुनसरीले आयोजना गरेको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको फ्लोरीकल्चर एसोसिएसन नेपालको अध्यक्ष  मीनबहादुर तामाङले बताउनुभयो । 

अहिले देशभर ४८ जिल्लामा १७८ हेक्टर क्षेत्रफलमा ७३२ भन्दा बढी व्यवसायीहरूले पुष्प व्यवसाय गरिएको उहाँले बताउनुभयो । जसमा ४० हजार जनाले रोजगारी पाएको उहाँको भनाइ छ । 

गतवर्ष मात्र ३६ करोड रुपियाँको फूल आयात भएको छ । १ करोड बरावरको फूल निर्यात भएको उहाँले बताउनुभयो । यसैगरी धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्र विक्रम बेघाले आफूलाई चाहिने फूल आफै उत्पादन गर्नसके हाम्रो देशको करोडौँ रुपियाँ बाहिर जानबाट जोगिन सक्ने बताउनुभयो । 

पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहेको छ । ती स्टलमा मौसमी, आलङ्कारिक बोटबिरुवा, सुनाखरी, कम्पोस्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गर्न राखिएको छ ।