• ८ मंसिर २०८१, शनिबार
blog

काठमाडौँ, माघ २५ गते । सन् २०२६ भित्र १० अर्ब रुपियाँ बराबरको पस्मिनाजन्य वस्तु निर्यात गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय रणनीति तयार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०७९’ तयार गरेको हो । 

वार्षिक औसत साढे तीन अर्ब रुपियाँ बराबरको पस्मिनाजन्य सामानको निर्यात बढाएर सन् २०२६ को अन्त्यसम्म निर्यात बढाएर नौ अर्ब ७५ करोड रुपियाँमा पुर्‍याउने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा स्वदेशी च्याङ्ग्रा र उत्पादन वृद्धि गर्ने, च्याङ्ग्रा पस्मिना निर्यात बढाउने, उत्पादकको दिगो उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य उल्लेख गरिएको छ । 

च्याङ्ग्रा पस्मिना निकाल्ने र प्रशोधन केन्द्र स्थापना, उत्पादनको गुणस्तर सुधार गर्ने, किसानका लागि हिमाली ग्रामीण क्षेत्रमा सार्वजनिक तथा निजी सहयोगको पहुँच वृद्धि, बजार प्रवद्र्धन र व्यापार कूटनीतिलाई सशक्तीकरण गर्ने विषय पनि रणनीतिमा समेटिएको छ । 

ललितपुरमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रिय पस्मिना रणनीति सार्वजनिक गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले च्याङ्ग्रा पस्मिनाको उत्पादन बढाएर विश्वबजारमा निर्यात प्रवद्र्धन गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । हिमाली क्षेत्रका किसानले उत्पादन गरेको च्याङ्ग्राको भुत्ला स्वदेशभित्र उत्पादन गरी उचित मूल्यमा बिक्रीको सुनिश्चित हुँदा उत्पादन बढ्न सक्ने उहाँको भनाइ छ । त्यस्तै उहाँले च्याङ्ग्रा पस्मिना उद्योगबाट उद्योगी व्यापारी निर्यातकर्तालाई मात्र नभएर उत्पादकलाई रोजगारी प्राप्त गर्नुका साथै आम्दानी गर्न सकिने हुँदा यस क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो । 

वाणिज्य सचिव मधु मरासिनीले छुट्टै पहिचान भएको स्वदेशी पस्मिनाको उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै लैजानुपर्ने बताउनुभयो । “उच्च मूल्य भएको पस्मिनाको गुणस्तरीय उत्पादन गरेर निर्यात बढाउने पर्याप्त सम्भावना छ । यसले रोजगारी वृद्धिसँगै विदेशी मुद्रा भित्र्याउन सकिने हुँदा यसमा निजी क्षेत्रको पनि सहयोग आवश्यक पर्छ,” उहाँले भन्नुभयो । रणनीति कार्यान्वयन गर्न ५८ करोड ८२ लाख ५० हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमा सरकारको ६६ं.६ प्रतिशत र निजी क्षेत्रको ३३.४ प्रतिशत लगानी हुनुपर्ने प्रक्षेपण गरिएको छ । 

स्थानीय च्याङ्ग्राको कच्चा पदार्थ (भुत्ला) प्रशोधन गरेर पस्मिनाको धागो उत्पादन गर्न सकिने सम्भावना रहेको पनि अहिलेसम्म उत्पादन वृद्धिका कार्यक्रम हुन सकेको थिएन । नेपाल पस्मिना उत्पादक सङ्घका अध्यक्ष विजय दुगडले दुई वर्षदेखि मुस्ताङको लोमान्थाङमा भुवा सङ्कलन केन्द्र स्थापना गरी सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।

चालीस लाख टन भुवा उत्पादन

डेढ लाख च्याङ्ग्राबाट वार्षिक ३० देखि ४० लाख टन भुवा उत्पादन हुने गरेको पाइएको छ । यसअघि च्याङ्ग्राको भुवा सङ्कलन गरेर व्यापारीले तिब्बत लाने गरेका थिए । भुवा प्रशोधन गर्न तीन करोड लागतमा ललितपुरको हरिसिद्धिमा प्रशोधन केन्द्रसमेत स्थापना गर्न लागिएको सङ्घका अध्यक्ष दुगडले जानकारी दिनुभयो । सङ्घका अनुसार नेपालमा करिब एक लाख ४३ हजार च्याङ्ग्रा छन् ।

 विशेषगरी मुस्ताङ, मुगु, जुम्ला, डोल्पा, मनाङमा च्याङ्ग्रा पालन हुने गरेको छ । पस्मिनाबाट पछ्यौरा, पन्जा, दोसल्ला, गलबन्दी, कम्बल र स्विटर उत्पादन गरिँदै आएको छ । पस्मिना उद्योगले २० हजारभन्दा बढीलाई रोजगारी दिएको र त्यसमध्ये ५० प्रतिशत महिला रहेको सङ्घले जनाएको छ । सरकारले पस्मिनाको मूल्य श्रृङ्खला विकास गरी, प्रशोधन र निर्यात प्रवद्र्धन लक्षित विभिन्न नीति योजना र कार्यक्रममा जोड दिएको छ । 

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ५८ करोड ८४ लाख रुपियाँको पस्मिना निर्यात भएको थियो । यस्तै आव २०७७/७८ मा चार अर्ब २७ करोड चार लाख रुपियाँको पस्मिना निर्यात भएको थियो । यस्तै आव २०७८/७९ मा तीन अर्ब ९४ करोड ७८ लाख ८१ हजार रुपियाँको निर्यात भएको छ । स्वदेशी पस्मिनाजन्य उत्पादन, अमेरिका, फ्रान्स, बेलायत, जापान, नर्वे, क्यानडालगायतका मुलुकमा निर्यात हुने गर्छ ।