• १२ असोज २०८१, शनिबार

किचकवध मेलामा भक्तजनको भीड

blog

दमक समाचारदाता 

दमक, माघ २४ गते । झापाको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भद्रपुर नगरपालिकामा रहेको ‘किचकवध’ क्षेत्रको प्रवद्र्धनका लागि लाग्दै आएको मेलामा भक्तजनको भीड लागेको छ। 

मेला भव्य बनाउन भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले स्थानीयलाई सार्वजनिक बिदा पनि दिएका छन्। यस क्षेत्रको महत्त्वलाई दर्शाउनका लागि दुईवटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय लिएको जनाइएको छ।

कोरोनाको महामारीका कारण लगातार योभन्दा अघि दुई वर्षसम्म यहाँको मेला लाग्न सकेको थिएन। यहाँ माघ शुक्ल पूर्णिमा तथा स्वस्थानी व्रत कथामा आधारित रहेर धार्मिक मेला लागेको हो।

किचकधाम संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेका अनुसार किचकवध धार्मिक स्थलमा तीन दिनसम्म धार्मिक मेला लाग्नेछ। अघिल्लो २ वर्ष मेला लाग्ने सकेको थिएन। यहाँ दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरू पुरातत्त्व विभागको उत्खननबाट फेला परेको छ। यसको संरक्षणको कामसमेत गुरुयोजना अनुसार भइरहेको छ।

२०५९ सालमा पहिलोपल्ट उत्खनन गर्दा स्वस्तिक चिह्न भएको माटाको इँटाहरू किचकवध स्थलमा फेला परेपछि यस क्षेत्रको संरक्षण हुँदै आएको छ। किचकवध स्थलमा भीमसेनले किचकलाई बध गरेको मुर्ति बनाइएको छ।

किचकवधमा वनभोज स्थल, बाल उद्यान, चिडियाखाना, सामुदायिक भवन, झोलुङ्गे पुल, वृद्धाश्रम, पोखरी संरक्षणलगायतका पूर्वाधार विकासका लागि रु ५२ करोड ५० लाखको गुरुयोजनाअनुसार काम भइरहेको अध्यक्ष थेबेले जनाउनु भयो।

महाभारतकालीन कथामा आधारित किचकवधमा थुप्रै पुरातात्त्विक वस्तुहरू छन्। त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी पनि रहेको छ। मेलाको समयमा यहाँ स्नान गर्दा रोगब्याध जाने र मनोकाङ्क्षा पूरा हुने बताइन्छ।

महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किचकवध करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ। वरिपरि गहिरो भुभाग रहेको किचकवधको १० बिघामध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालीन गढ जस्तो डाँडाका रूपमा रहेको छ।

महाभारत कालीन एक कथाअनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किचक नामको सेनापति थियो। पाण्डवहरू यहाँ गुप्तबास बस्दा किचकको कुदृष्टि द्रौपदीमाथि परेको थियो। त्यसबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेनले किचकको वध गर्नुभएको थियो। यस स्थलमा भीमसेनले किचकको घाँटी थिचेर मारेका कारण यस स्थानलाई किचकवध भनिएको हो। किचकको वध गरेपछि शरिरमा भएको रगत पखाल्न उहाँले हानेको बाणले यहाँ पोखरी बनेको विश्वास गरिन्छ।