“मान्छे जन्मँदै दुःखको मनोग्रन्थी लिएर जन्मियो । हुर्काउँदा नै संसारमा दुःख छ भन्ने मनोविज्ञानबाट हुर्काइयो । अनि पो मान्छे दुःखी भयो,” डा. विजयरत्न वज्राचार्यले जीवनमा बुझेको दर्शनबारे भन्नुभयो, “जुन दिन जीवन अनेकन अनुभवको सँगालो हो भन्ने बुझिन्छ र बुझाइन्छ वा भेउ पाइन्छ, त्यो दिन जिन्दगी निकै प्रिय लाग्न थाल्छ ।”
ललितपुरको पाटनमा रत्न व्यवसायी परिवारमा जन्मनुभएका वज्राचार्य चर्चित रत्न व्यवसायी मात्रै होइनन्, त्यही पेसा गर्दागर्दै रत्न विशेषज्ञकै रूपमा कहलिएको नाम हो । जीवनका ५२ वसन्त रत्नको व्यवसाय र अनुसन्धानमा बिताउनुभएका वज्राचार्यले नवरत्न, माणिक्य, मोती, मुगा, पन्ना, पुष्पराज, हीरा, नीलम, गोमेद र वैदूर्यमणि (लहसुनिया) मात्र होइन, रकक्रिस्टल, गोल्डेन स्टोनदेखि पारस स्टोनजस्ता उपरत्नका कणकण केलाउनुभयो । यसको अन्तर्य छाम्नुभयो । उपादेयता र अस्तित्वबारे अध्ययन गर्नुभयो । त्यसमाथि किताबै लेख्नुभयो ।
रत्नको अध्ययन अनुसन्धानका लागि उहाँ देशदेशावर घुम्नुभयो । बर्मा पुग्नुभयो । चीन, श्रीलङ्का, कम्बोडिया, भारतलगायतका पहाड र समुद्रसम्म चहार्नुभयो । नेपालमै भएको रत्नबारे धेरै नेपालीलाई थाहा नभए पनि उहाँले विश्वका रत्नबारे बुझ्नुभयो, बुझाउनुभयो ।
उहाँको पुख्र्यौली व्यवसायको विरासत यतिबेला छोराले अगाडि बढाएका छन् । डा. वज्राचार्य भने रत्न व्यवसायभन्दा अध्यात्मको नजिक हुनुहुन्छ । २० वर्षयता उहाँ शान्ति वन अभियान र तीन मिनेट ध्यानमा होमिनुभएको छ ।
जीवनको पाँच दशकभन्दा लामो समय रत्नमा रमाएको मान्छे एकाएक किन अध्यात्ममा ? “हरेक क्षेत्रमा गहिरो लगावले एउटा परिणाम दिन्छ,” उहाँले भन्नुभयो । रत्नप्रतिको गहिरो लगाव र मिहिन अनुसन्धानको परिणाम अध्यात्म भएको उहाँले सुनाउनुभयो ।
“पत्थर वा जुनसुकै रत्नमा आध्यात्मिक शक्ति निहित भएको मैले पाएँ । रत्नको सम्बन्ध अध्यात्मसँग छ भन्ने कुरा ऋषिमुनिले पनि गरेको पाइनुबाट प्रस्ट हुन्छ । रत्नमा अर्कै खालको ‘भाइब्रेसन’ हुन्छ,” उहाँले भन्नुभयो, “कैलाश पर्वतको रङ नीलो छ । त्यो नीलमको पहाड हो; जहाँ शिवले ध्यान गरेको विश्वास गरिन्छ । शिवलाई कसले देख्यो र ? शिव भनेकै ‘भाइब्रेसन’ हो । रत्नमा पनि ‘भाइबे्रेसन’ हुन्छ । त्यसैले रत्न भनेकै ‘भाइब्रेट’ भएको भगवान् हो ।”
रत्न किन धारण गर्ने ? देखाउनका लागि वा कुनै सकारात्मक ऊर्जाका लागि ? के साँच्चै रत्नमा कुनै अलौकिक तìव छ ? यो प्रश्नको उत्तर रत्नविशेषज्ञ डा. वज्राचार्यले धेरै गहिरो गरी खोज्नुभयो । सूर्यका सात रङले मानिसको शरीरमा पार्ने सकारात्मक प्रभावको गुण नवरत्नमा हुने उहाँले बुझ्नुभयो । यो कुरा मानिसको वज्र औँला (चोर औँला)मा निहित रहेको उहाँले अनुभव गर्नुभयो र त्यहीँबाट तीन मिनेटको ध्यान सुरुवात गर्नुभयो ।
“मैले सिकाउने ध्यान शून्यतामा हराउनका लागि होइन, मस्तिष्कलाई ऊर्जा दिनका लागि हो,” उहाँले भन्नुभयो, “वज्र औँला (चोर) आफैँमा हीरा हो । यसलाई बुढीऔँलासँग स्पर्स गर्दा मस्तिष्कलाई ऊर्जा मिल्छ । जसरी कुनै शक्तिलाई एकआपसमा स्पर्स गराउँदा बत्ती बल्छ ।” उहाँले सुरु गरेको तीन मिनेट ध्यान जहाँ, जतिबेला पनि गर्न सकिन्छ तर एउटै सर्त छ, ढाड भने सिधा हुनैपर्छ ।
उहाँले भन्नुभयो, “जसरी रुख सिधा हुँदा ऊर्जा पाउनेबित्तिकै हाँगा, पात र फूल फैलन्छ, त्यस्तै हो– मानिसको ढाड र मस्तिस्कको सम्बन्ध पनि ।” २०५९ सालमा सुरु गरेको उहाँको ध्यान अभियान अहिले शान्ति वन ध्यान केन्द्रका नाममा फैलँदै गएको छ । केन्द्रमा बढेमानका बुद्ध प्रतिमा स्थापनासहित काभ्रेको धुलिखेल, ललितपुरको गोदावरी र लुम्बिनीमा शान्ति वन ध्यान केन्द्र संस्थागत भइसकेका छन् ।
यी केन्द्रमा बिहान ६ बजेबाट ध्यान र प्रवचन सुरु हुन्छ । अहिलेको समयका मानिसलाई व्यस्तताले लखेटेको छ । हरेक कुरा छरितो बनेको छ । खानपानदेखि व्यवहार पनि हतारमा हुने गरेको छ । त्यसैले पनि यो ध्यान विधि छोटा र प्रभावकारी भएको डा. वज्राचार्य बताउनुहुन्छ ।
ध्यानप्रति आकर्षण भएर पनि लामो हुने र त्यसका लागि समय निकाल्न नसकिने विवशतामा भएकाहरूका लागि पनि यो विधि निकै प्रभावकारी र उपयुक्त हुने उहाँको भनाइ छ । यसले मानिसको मनमा शुद्धता, मस्तिष्कमा ऊर्जा र विचारमा नवीनपन ल्याउने ठोकुवा वज्राचार्यको छ । तीन मिनेट ध्यान विधि प्रचलनमा रहेका लामोलामो एकान्तमा गरिने ध्यान विधिभन्दा नितान्त फरक छ । “अहिलेको मानिस कामकाजी छ, व्यस्त र भीडभाडमा बाँच्नुपर्ने अवस्था छ,” डा. वज्राचार्यले भन्नुभयो, “यो कामकाजी मान्छेका लागि पनि दुई तरिकाले उपयोगी छ, छरितो छ, जहाँजस्तो अवस्थामा पनि गर्न सम्भव छ र व्यस्त जीवनमा मन, मस्तिष्क र विचारलाई ताजगी दिन यो निकै प्रभावकारी छ ।”
वज्राचार्य हरेक मानिस १२० वर्ष बाँच्न सम्भव भएको दाबी गर्नुहुन्छ । “यो शान्तिका दूत भगवान् गौतम बुद्ध जन्मेको तपोभूमि हो । यही माटोमा बुद्ध ८२ वर्ष बाँच्नुभयो । त्यो २६ सय वर्षअघिको कुरा थियो । ऋषिमुनि त झन् सैयौँ वर्ष बाँचेको कुरा धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । त्यो किन त ? त्यो सबैको कारण ध्यान, योग र सकारात्मक ऊर्जा नै थियो ।”
त्यो समय हेरी यो समयमा सबै सुविधा उपलब्ध छन् । सामान्य टाउको दुःखेको औषधिदेखि असाध्य रोगको पनि उपचार सम्भव भएकोतर्फ उहाँ सङ्केत गर्नुहुन्छ । हुन पनि हो, आजभन्दा ५० वर्षअघि अर्थात् २०३० सालतिर नेपालीको औसत आयु ४० वर्ष हाराहारी थियो । अहिले नेपालीको औसत आयु बढेर ६९.६ वर्ष पुगेको छ भने सरकारले सार्वजनिक गरेको १५औँ पञ्चवर्षीय योजनामा नेपालीको आयु ७२ वर्ष पुग्ने प्रक्षेपण गरिएको छ ।
“अहिलेको युगमा मानिसले आफ्नो शरीरमा के समस्या छ भन्ने क्षणभरमै पत्ता लगाउने अवसर छ, प्रविधि छन्, केही भयो भने औषधिमूलो छ,” उहाँले भन्नुभयो, “सकारात्मक सोच राख्ने, मन र विचार शुद्ध हुने हो भने १२० वर्ष किन बाँच्न सकिँदैन ?”
आत्मबल, आत्मविश्वास र अध्यात्मको वैज्ञानिक प्रमाण त हुँदैन तर आध्यात्मिकताको लामो साङ्लो निर्माण गर्ने हो र गुणवान् मानिस जोडिँदै जाने हो भने यो सम्भव भएको उहाँ बताउनुहुन्छ ।
जीवनमा अनुभवले त झन् धेरै पो बाँच्न सकिन्छ । ६० वर्षको मानिसले के जानेको हुँदैन, कुनै रोग छैन भने कसरी बूढो ? सारा अनुभव प्राप्त जीवन त झन् पो सक्रिय हुनुपर्छ त । भर्खरको युवाभन्दा सबै बुझेको, सबै जानेको हुन्छ । झन् आनन्दले जीवन बाँच्न सकिन्छ ।
“फलामको नै भए पनि सिक्रीको एउटा मात्रै टुक्रा बलियो हुन्छ,” डा. वज्राचार्यले भन्नुभयो, “त्यसलाई सफल बनाउन त्यस्तै टुक्राको साङ्लो बनाउन आवश्यक छ ।” रत्नको आभूषणको आकर्षणभन्दा यो निकै लोभलाग्दो भएको उहाँको बुझाइ छ । त्यसैले उहाँ यतिबेला शान्ति वन ध्यान केन्द्रलाई देशभर र बाहिरसम्म फैलाउने अभियानमा जुट्नुभएको छ ।
नेपाल जापान चेम्बर अफ कमर्सको फाउन्डर प्रेसिडेन्ट, रोटरी क्लबको अध्यक्ष हुँदाको सम्बन्ध, लुम्बिनी डेभलपमेन्ट ट्रस्टको बोर्ड मेम्बर हुँदा वल्र्ड बुद्धिष्ट समिट गर्दाको सङ्गतले यो अभियान सफल हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । उहाँलाई कम्बोडिया, थाइल्यान्ड, जापानलगायतबाट शान्ति वन स्थापनका लागि आग्रह गरिएको सुनाउनुहुन्छ ।
‘लाइफ नो रिटायर्ड’, उहाँ भन्नुहुन्छ, “हाम्रो मनोविज्ञान हो रिटायर्ड । जीवनमा अनुभवले त झन् धेरै पो बाँच्न सकिन्छ । ६० वर्षको मानिसले के जानेको हुँदैन, कुनै रोग छैन भने कसरी बूढो ? सारा अनुभव प्राप्त जीवन त झन् पो सक्रिय हुनुपर्छ त । भर्खरको युवाभन्दा सबै बुझेको, सबै जानेको हुन्छ । झन् आनन्दले जीवन बाँच्न सकिन्छ ।”
हेर्दा चिटिक्क, युवावयकै लाग्ने वज्राचार्यमा समयले रङ्ग्याइदिएका कपालबाहेक कतै बुढ्यौलीपन झल्कँदैन । बोलीमा जे बोल्नुहुन्छ, व्यवहारमा पनि उस्तै लाग्ने उहाँका आँखामा शान्ति वनलाई फैलाउँदै विश्वलाई ऊर्जावान् बनाउने सपना तैरिएझैँ लाग्छ ।