• ८ मंसिर २०८१, शनिबार

होमस्टेमा रमाउँदा

blog

धेरै मान्छेलाई धन कमाउने अनि समाज, इस्टमित्रबाट ‘ओहो क्या राम्रो गरेको’ भन्ने आवाज सुन्न मन लाग्न सक्छ । यस्तो विचार लिएर एकसुरले हिँडिरहँदा आफ्नो संस्कार, संस्कृति र परम्परामा भने ध्यान नपुग्न सक्छ । यति मात्र होइन, विदेशीको नक्कल गर्न पनि पुग्न सक्छौँ । धेरै नेपाली दाजुभाइ, दिदीबहिनी विदेशको तातो ठाउँमा गएर दुःख मेहनत गरेर पेट पाल्न बाध्य छन् । यस्तो अवस्थामा स्वदेशमै रहेकाले आफूले जानेको कामबाट कहीँ कतै सहयोग पुगोस् भन्ने उद्देश्यले केही त गर्नैपर्छ, जुन कामले परिवारसँगै बस्नका लागि बाटो खोलोस् । आफ्नै देशमा बसेर धेरथोर कमाउन सकियोस् । 

यसको एउटा राम्रो उदाहरण होमस्टे (पाहुना घर) पनि हुन सक्छ । गाउँसहर, तराईपहाड जहाँ बसे पनि नेपालीपनको होमस्टे (पाहुना घर) सञ्चालन गर्न सक्छौँ । घुम्न आउने विदेशी वा आन्तरिक पाहुनालाई यहाँ खान, बस्न प्रबन्ध गर्न सक्छौँ । हाम्रोबारे जानकारी दिन सक्छौँ । यसबाट थोरै भए पनि आम्दानी गर्न सक्छौँ । चीन र भारतबाट त्यहाँको जनसङ्ख्याको पाँच प्रतिशत मात्र नेपाल आए र हामीले होमस्टेमा स्वागत सत्कार गर्न पायौँ भने देशकै अर्थतन्त्रमा धेरै सहयोग पुग्छ । 

आजकलका युवाले विदेशी लवाइखवाइ मन त पराउँछन् तर आफ्नोपनबारे भने त्यति चासो राखेको पाइँदैन । त्यसैले आफ्नो संस्कार र संस्कृतिबारे जानिने र केही आय आर्जन हुने होमस्टे सञ्चालन गर्नु धेरै राम्रो हुन्छ । यो व्यवसायका लागि सरकारले शान्ति, सुरक्षाको राम्रो व्यवस्था गर्नुपर्छ । व्यवसायीले सफासुग्घर र हँसिलो अनुहारले पाहुनाको स्वागत गर्नुपर्छ । यसरी सेवा गर्दा विश्वभरि नाम र दाम कमाउने बाटो खोल्नेछ । 

धेरैजसो मान्छेलाई होमस्टे भनेको त होटलजस्तै हो भन्ने लाग्न सक्छ । एक किसिमले यो कुरा ठीकै हो तर होटलभन्दा यसको प्रकृति भिन्न हुन्छ । धेरैजसो स्थानीय उत्पादन होमस्टेमा खुवाइन्छ । स्थानीय संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । होमस्टे होटलजस्तो व्यावसायिक भने हुँदैन । 

होमस्टे सञ्चालनका लागि हरेक ठाउँका पढेलेखेका दसरपन्ध्र जना बसेर कहाँ कहाँ कति उचित हुन्छ भन्नेबारेमा छलफल गर्नुपर्छ । त्योभन्दा अघि जहाँ जेजस्ता घर छन्, यसैमा पाहुनालाई सेवा दिनेबारे प्रस्ट हुनुपर्छ । ठाउँअनुसार होमस्टे विस्तार गर्दै जानुपर्छ । यसो गर्दा हरेक ठाउँका मान्छेले काम पाउँछन् । होमस्टेका लागि घर छैन भने थोरै खर्चमा काँचो इँटाले बनाउने र बलियो बाँसको दलिन राख्ने गर्नुपर्छ । यसो गरेमा खर्च धेरै जोगिन्छ र सुरक्षित पनि हुन्छ । बरु विदेशी पाहुनाहरू अभ्यस्त भएका सेवाहरू पनि उपलब्ध गराउन ध्यान दिनुपर्छ । 

यसैगरी होमस्टेलाई पूरै नेपालीपन झल्कने र त्यस्ता होमस्टेमा पुगेर हेर्दा गाउँमा हुने चालचलन, रहनसहन देख्न पाइने बनाउनुपर्छ । नेपालीले मनाउँदै आएका चाडपर्व, विवाह, व्रतबन्ध, सुख वा दुःख पर्दा गरिने संस्कार प्रस्ट अवलोकन गर्न पाउने व्यस्था मिलाउनुपर्छ । अनि नेपाल आएका विदेशी पाहुनाले नेपाली संस्कृतिसँग नजिक हुन र बुझ्ने अवसर पाउने छन् । फेरि होमस्टे भन्नेबित्तिकै कतिपयले धेरै पैसा खर्च गर्नुपर्ने व्यवसाय भनेर बुझ्ने गरेका छन् । तर अन्य किसिमको व्यवसायभन्दा ज्यादै थोरै खर्चले यो व्यवसाय चलाउन सकिन्छ । 

होमस्टेमा खाने र बस्ने मात्र नभई स्थानीयस्तरका संस्कृति, परम्परा, दैनिक काम सबै अवलोकन गर्न सकिन्छ । यो अनुभव विदेशीका लागि विशेष नै हुनेछ । जस्तो कि गुरुङको घरमा रोदी नाच, बाहुनको घरअगाडि तुलसीको मोठ, किसानको घरमा कृषि औजार आदि । अनि होमस्टेका पाहुनाले विविधतासँग साक्षात्कार गर्न पनि पाउनेछन् । 

नयाँ पुस्तालाई ढिकीजाँतो के हो र कस्तो हुन्छ भनेर सोधेमा अलमलमा पर्छन् । कसौँडी, करुवा, ओदान आदि सामान सहरबजारमा त्यति प्रयोग भएको पनि पाइँदैन । यसबारे पनि जानकारी दिन सकिन्छ । नयाँ पुस्तालाई पुराना सामग्रीबारे बुझाउने र सिकाउने ठाउँ नहँुदा युवाले जान्ने मौका पनि पाएका छैनन् । यसका लागि होमस्टेले काम गर्न सक्छ । नेपालका विभिन्न जात–जाति, तिनका संस्कार, संस्कृति, रीतिरिवाज आदिबारे जान्न र विदेशीलाई बुझाउन तथा आर्थिक उपार्जन गर्न होमस्टे एकमात्र विकल्प हो । त्यसैले नेपालीपनको होमस्टे सञ्चालन गर्नु नेपालीलाई पनि नेपाली संस्कृतिका बारेमा पढाउने, ज्ञान दिने खुला विद्यालयजस्तो होस् भन्ने हो । यसले हाम्रो संस्कृतिलाई जीवित बनाइराख्छ । 

आजभोलि जे काम गरे पनि नाफा अनि लगानी उठाउनुपर्छ भन्ने मात्र उद्देश्य रहेको पाइन्छ । व्यवसाय गर्दा हरेक मान्छेलाई फाइदा चाहिन्छ ठीक हो तर हाम्रो नेपालीपन पनि सधैँ रहिरहोस् भन्ने कुरा भुल्न हँुदैन । विद्यालयले आफ्ना विद्यार्थीलाई होमस्टेमा राखेर भ्रमण गराउने होे भने सानै उमेरदेखि नै हाम्रो रीतिरिवाज अनि संस्कृति नयाँ पुस्ताले देख्न र बुझ्न पाउँछन् । होमस्टे सञ्चालकले पनि साधारण नेपाली खाना खुवाएर आम्दानी गरी व्यवसाय दिगो बनाउन सक्छन् । 

   

लेखक बाट थप