• ७ पुस २०८२, सोमबार

विपत् जोखिमविरुद्ध योजनाबद्ध कार्यक्रम जरुरी

blog

काठमाडौँ, माघ २१ गते । विपत् जोखिम न्यूनीकरणका लागि हरेक नागरिक तथा सरोकारवाला निकायले सहकार्य तथा जोखिम कम गर्न लगानीसमेत गर्ने अभ्यास निरन्तर गर्नुपर्नेमा जोड दिइएको छ । 

पूर्वशिक्षामन्त्री एवं विपत्विज्ञ गङ्गालाल तुलाधरले प्रकोप पूर्वतयारी सञ्जाल, नेपाल (डीपी नेट नेपाल)द्वारा शुक्रबार राजधानीमा आयोजित संस्थाको १४औँ साधारण सभामा बोल्दै नेपाल बाढीपहिरो, आगलागी, भूकम्पलगायत विविध विपत्को जोखिम क्षेत्र रहेकाले विपत् जोखिम न्यूनीकरणको अभ्यासलाई परम्परासरह नै पछ्याउनुपर्ने बताउनुभयो । 

मेलम्चीमा बाढी आउँदा साइरनले तल्लो नदी किनारमा बसोबास गर्ने नागरिकको ज्यान जोगाउन सफल भएको उदाहरण दिँदै उहाँले समयमा सूचना पाउँदा भौतिक क्षति भए पनि मानवीय क्षति कम भएको बताउनुभयो । मन्त्री तुलाधरले प्रकोप पूर्वतयारी सञ्जाल (डीपी नेट)ले विगत १४ वर्षदेखि सरकारी तथा अन्य विभिन्न संस्थासँगको सहकार्यमा विपत् जोखिम न्यूनीकरणको क्षेत्रमा गरेको काम उदाहरणीय भएकाले यस संस्थालाई संस्थागत गर्दै अगाडि बढ्ने सन्दर्भमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सो अवसरमा डीपी नेटका महासचिव कैलाश रिजालले संस्थाको गतिविधिबारे जानकारी दिँदै विगत वर्षदेखि विपत् जोखिमबारे आफ्नो विज्ञता, गतिविधि तथा छलफल सुझाव प्रस्तुत गर्न डीपी नेट डिजिटल प्लेटफार्म उपलब्ध गराएको बताउनुभयो । डीपी नेटको स्थापनाकालमा विपत् तथा सामाजिक काममा संलग्न १३ वटा संस्थाबाट सुरु भएको डीपी नेटमा हाल यस क्षेत्रमा काम गरिरहेका अभियन्ता तथा संस्था गरी १२३ वटा संस्थाले सहकार्य गरिरहेका छन् । 

डीपी नेटका अध्यक्ष सूर्यबहादुर थापाले विपत् कति बेला आउँछ भन्ने निश्चित नभए पनि त्यसबाट जोगिने उपायबारे समुदायस्तरमै जागरण फैलाउन संस्थाले काम गरिरहेको बताउनुभयो । कोरोना महामारी, २०७२ सालको भूकम्प हरेक नेपालीले सामना गरिसकेको अवस्थामा अनुभव र सिकाइसँगै हरेक वर्ष आउने बाढीपहिरो, आगलागीको जोखिम न्यूनीकरणका लागि योजनाबद्ध ढङ्गले तयारी सँगसँगै गर्दै जानुपर्नेमा जोड दिनुभयो ।