• १३ साउन २०८१, आइतबार

कालिदह नाकामा बढ्यो चहलपहल

blog

नेपाल–भारत सीमावर्ती क्षेत्र रुपन्देहीको कालिदह नाका । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, माघ २० गते ।
पछिल्लो समय नेपाल–भारत सीमाक्षेत्र कालिदह–ककरहवा नाकामा चहलपहल बढ्दै गएको छ । भारतीय पर्यटक ककरहवा–कालिदह नाका हुँदै लुम्बिनी आउने क्रम बढेपछि सीमाक्षेत्र गुल्जार बनेको हो ।

लुम्बिनी, गैडहवा, सैनामैना, कंचन लगायतका स्थानीय पनि दैनिक उपभोग्य सामान खरीदका लागि भारतीय बजार ककरहवा जाने गरेका छन् । बेलहिया–सुनौली नाकाभन्दा कालिदह–ककरहवा हुँदै लुम्बिनी आउजाउ गर्न सहज भएपछि भारतीय पर्यटकले यही नाका प्रयोग गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।

कालिदह–ककरहवा नाका जिल्लाको दोस्रो ठूलो नाका हो । मानिसको आउजाउ हिसाबले पनि बेलहिया–सुनौली नाकापछि यो दोस्रोमा पर्छ । व्यवसायीका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५–३० प्रतिशतले कालिदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् । यो नाकाबाट लुम्बिनी १० किलोमिटर दूरीमा पर्छ । सुनौली–बेलहिया नाका हुँदै लुम्बिनी पुग्न २० किलोमिटर दूरी पर्छ । समयको बचत र छोटो दूरीका कारण धेरै भारतीयको रोजाई कालिदह–ककरहवा नाका परेको हो । भारतीय पर्यटकहरुले यो नाका प्रयोग गर्ने क्रम बढे पनि तेस्रो मुलुकका पर्यटक भने सुनौली–बेलहिया नाका प्रयोग गरेर लुम्बिनी पुग्छन् ।

कालिदह नाकामा अध्यागमन कार्यालय छैन । अध्यागमन कार्यालयन नहुँदा तेस्रो मुलुकका पर्यटक त्यहाँबाट नेपाल प्रवेश पाउँदैनन् । त्यसैले उनीहरुले सुनौली–बेलहिया नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतीय पर्यटकलाई भने कुनै रोकतोक छैन । भारतीय पर्यटकले अधिक मात्रामा नाका प्रयोग गर्न थालेपछि कालिदह क्षेत्र ‘गुल्जार’ बनेको छ । सीमा क्षेत्रमा कारोबार पनि बढिरहेको स्थानीय शम्सुद्धिन धुनियाँले बताउनुभयो ।

कालिदह–ककरहवा नाकाबाट भारतीय बजार गोरखपुर १०३ किमीको दूरीमा पर्छ । यस्तै, वाराणसी ३१८, सिद्धार्थनगर २५, बस्ती ९७ किमी दूरीमा पर्छ । यी ठाउँबाट लुम्बिनी आउजाउ गर्न नजिक पर्छ, जसले गर्दा भारतीयहरु यो नाका हुँदै बढी मात्रामा लुम्बिनी आउने गरेका छन् । लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले कालिदह नाका हुँदै लुम्बिनी आउने भारतीयको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो ।

“सहज भएर होला पछिल्ला दिनमा यो नाका प्रयोग गरेर आउने भारतीय अधिक छन्, यो हाम्रा लागि राम्रो सन्देश हो”, उहाँले भन्नुभयो । होटल सङ्घलगायत लुम्बिनी क्षेत्रका व्यावसायिक सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले कालिदह–ककरवा नाकालाई भन्सारका रुपमा खुलाउन पहल गरिरहेका छन् । यहाँ अहिले छोटी भन्सार छ । ठूला मालबाहक गाडी यो नाका प्रयोग गरेर आउजाउ गर्न पाउँदैनन् ।

व्यवसायीले भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न माग गरिरहेका छन् । “अध्यागमन कार्यालय बन्यो भने तेस्रो मुलुकका पर्यटक पनि यो नाका हुँदै लुम्बिनी आउन पाउँछन् भन्ने हाम्रो माग हो,” ज्ञवालीले भन्नुभयो । नाकाबाट साना गाडी, मोटरसाइकल, साइकलहरु आउजाउ गर्न दिइएको छ । अधिकांश भारतीय पर्यटक लुम्बिनी आएर उसैदिन फर्किने गरेको व्यवसायी बताउँछन् ।

लुम्बिनी क्षेत्रका व्यवसायीले कालिदह नाका पूर्णरुपमा सञ्चालन र अध्यागमन कार्यालय स्थापनाको माग गरिरहे पनि भैरहवा क्षेत्रका व्यवसायी भने यसको पक्षमा छैनन् । “एक त लुम्बिनीमा पर्यटकको बसाइ लम्बिएन भन्ने चिन्तामा व्यवसायी छौं, अर्कातर्फ कालिदह नाकामा अध्यागमन राख्यौं भने पर्यटक लुम्बिनी आएर घुमेर उसैदिन भारततर्फ फर्किन्छन्, यसबाट व्यवसायी झनै समस्यामा हुन्छन्,” सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले भन्नुभयो, “त्यसैले त्यहाँ अध्यागमन कार्यालय राख्नुहुँदैन ।”