• २३ कात्तिक २०८१, शुक्रबार

भारतले जित्यो सिरिज

blog

सिरिज विजेता भारतीय टोली ।

काठमाडौं, माघ २० गते । न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो । भारतको टी–२० इतिहासमा यो सर्वाधिक ठूलो अन्तरको जित हो 

यससँगै भारतले सिरिज २–१ ले जितेको छ । भारतले दिएको दुई सय ३५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा सबै विकेटको क्षतिमा ६६ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि ड्यारियल मिचेलले ३५ र कप्तान मिचेल स्यान्टेनरले १३ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सक्नुभएन । पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले चार विकेट लिनुभयो । अर्शदिप सिंह, उमरान मल्लिक र शिभम माभीले दुई दुई विकेट झार्नुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले अविजित एक सय २६ रन बनाउनुभयो । राहुल त्रिपाटीले ४४, हार्दिक पाण्डेयले ३० र सूर्यकुमार यादवले २४ रन बनाउनुभयो । 

बलिङमा न्युजिल्यान्डका माइकल ब्राकवेल, ईस सोधी, बिएर टिक्नर र ड्यारियल मिचेलले एक एक विकेट लिनुभयो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई २१ रनले हराएको थियो । दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । एजेन्सी