• १३ साउन २०८१, आइतबार

कोदोको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ १९ गते । कोदो बालीको पछिल्लो समय भएको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र गुल्मीले रैथाने बाली संरक्षणका लागि अभियान नै चलाएसँगै यसको उपयोगितामा थप वृद्धि हुन थालेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्दै गर्दा यस जिल्लामा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो खेती बिस्तारै घट्दै गएको पाइन्छ । अहिले कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदोलाई पछिल्लो समय सहरको आकर्षक खानाको परिकारको रूपमा मानिन्छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ र होटेलमा कोदोको परिकार पाक्ने गरेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

निकै झन्झटिलो बालीका रूपमा रहेको कोदोको महत्त्व पछिल्लो समय बढ्दै गएको छ । जनजातिको बाहुल्य रहेको क्षेत्रमा कोदोलाई जाँड बनाएर प्रयोग गरिने भए पनि अहिले यसको उपयोगिता खानाका परिकारमा बदलिएको छ । कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदाको ढिँडो अहिले ठूला होटेल र घर बासमा समेत रुचाइएको परिकार बनेको उहाँले बताउनुभयो । “चिसो याममा कोदोको ढिँडो निकै रुचाइएको परिकारमध्ये पर्दछ । स्थानीय कुखुराको मासुसँग ढिँडो खाने धेरै हुन्छन् ।” कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,–“पाहुनाले ढिँडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेर समेत ल्याएर खुवाउने चलन देखिन थालेको छ । पहिला चामलको भात नै बढी रुचाइएको थियो ।” पछिल्लो समय स्वास्थ्यका लागि कोदोले फाइदा पुर्याउने भएपछि यसको महत्त्व बढेको भण्डारीले बताउनुभयो ।

१५ प्रतिशतले कोदो उत्पादनमा वृद्धि

यस जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिन्छ । यहाँ गत वर्षभन्दा अहिले १५.२० प्रतिशतले कोदो उत्पादनमा वृद्धि भएको छ । मौसम अनुकूल भएकोले उत्पादनमा वृद्धि आएको हो । असोज महिनामा वर्षा नभएको भए उत्पादनमा २० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको कृषि  ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरिन्छ ।

आर्थिक वर्ष २०७७-०७८ मा दुई हजार ९३६ हेक्टर क्षेत्रफलमा तीन हजार ३६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा दुई हजार ९०२ हेक्टर क्षेत्रफलमा तीन हजार २७८ मेट्रिक टन उत्पादन भएको थियो । अहिले दुई हजार ९०५ हेक्टर क्षेत्रफलमा तीन हजार ७७६.५ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा १.३० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।