• ९ मंसिर २०८१, आइतबार

दुर्व्यसन छाडेर नयाँ बाटो

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, माघ १७ गते । कैलाली घोडाघोडी नगरपालिका सुखडका सुदर्शन अधिकारीलाई सानै उमेरदेखि लागूपदार्थ सेवनको लत बस्यो । आमाबुवा रोजगारीका लागि भारतमा रहने र घरमा हजुरआमासँग बस्ने सुदर्शनले साथीभाइको सङ्गतले चुरोट खान सिके । बिस्तारै अन्य नसा लाग्ने पदार्थको सेवनले सुदर्शनलाई नसाबाट बाहिर निस्कनै नसक्ने बनायो । 

हजुरआमाले माया गरेर पैसा दिनुहुन्थ्यो । त्यो पैसा लागूपदार्थ सेवनमै खर्च हुन्थ्यो । घरबाट पैसा दिन छोडेपछि अरूको पैसा चोरेर भए पनि खान थालेको अनुभव सुदर्शनको छ ।

उहाँ सात वर्षजति लागूपदार्थ सेवनको लतमा पर्नुभयो । जब उहाँलाई नयाँबाटो पुनस्र्थापना केन्द्रमा पु-याइयो, तब सुदर्शनको जीवन फेरियो । आठ महिना केन्द्रमा बसेर अमूल्य जीवनलाई बुझ्नुभयो अनि लागूपदार्थ सेवनलाई चटक्कै बिर्सनु्भयो ।

सुदर्शनले भन्नुभयो, “नयाँ जीवन पाएको छु । बुवाआमालाई धेरै दुःख दिइयो, अहिले पछुतो लागिरहेको छ । आमाबुवाको आँसुलाई मैले बुझ्न सकेको थिएन, केन्द्रमा आएर बल्ल मेरो आँखा खुल्यो ।” सुदर्शनजस्तै धेरै युवालाई लागूपदार्थको कुलतबाट बाहिर निकाल्न अहिले नयाँबाटो पुनस्र्थापना केन्द्रले सहयोग गरेको छ । गत चैत महिनादेखि स्थानीय युवाले सञ्चालनमा ल्याएको सो पुनस्र्थापना केन्द्रमा धेरै युवा उपचारपछि सामान्य जीवनमा फर्किसक्नुभएको छ । २५ जना युवा अहिले पनि उपचारमा हुनुहुन्छ ।

कुलतमा फसेर पुनस्र्थापना केन्द्रमा केही समय बसेर जीवनको सार्थकता बुझी समाज परिवर्तनमा केही गर्नुपर्छ भन्ने उद्देश्यसाथ स्थानीय युवाले नयाँबाटो पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याएका हुन् । अहिले तीन जना युवा केन्द्रको व्यवस्थापनमा लागि परेका छन् । तीनैमध्येका एक हुन् बलराम खत्री । लागूपदार्थ दुव्र्यसनमा परेर १५ महिना नेपालगञ्ज पुनस्र्थापना केन्द्रमा बसेर आएका बलरामले लागूपदार्थ दुव्र्यसनबाट बाहिर निस्कन सकिन्छ भन्ने विश्वाससाथ कुलतमा फसेकालाई बाहिर निकाल्न प्रेरित गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नसा सेवन गर्नु नराम्रो हो, जीवनमा यसले धेरै असर गर्छ । शारीरिक हानीका साथै भविष्य नै सकिन्छ भन्ने चेत हामीलाई भयो । अनि हामीमा केही नयाँ गर्ने सोच आयो ।”

उहाँले भन्नुभयो, “अरूका लागि आफू उदाहरण बनेर नसाको दलदलमा फसेका युवालाई बाहिर निकाल्ने उद्देश्यसाथ नयाँबाटो पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्यायौँ ।”

केन्द्रमा आउने युवालाई कम्तीमा पनि छ महिना उपचारमा राखिन्छ । उनीहरूको अवस्थाअनुसार केन्द्रमा मनोपरामर्श, अनुभव साटासाट, उत्प्रेरणात्मक कार्यक्रम गरिन्छ, जसले गर्दा लागूपदार्थ सेवनकर्तालाई बिस्तारै नसाबाट बाहिर निकाल्ने प्रयास गरिन्छ । उहाँले भन्नुभयो, “हामीले पैसा उठाएर सञ्चालन गरेका छौँ, खान बस्नका लागि आवश्यक न्यूनतम शुल्क लिएर नसा सेवन कर्तालाई राख्ने गर्छौं, आमाबुवा नभएका चार जनालाई निःशुल्क सेवा दिएका छौँ ।”

पुनस्र्थापना केन्द्र सञ्चालन गरेको एक वर्ष पूरा नहुँदै १८ जना युवा सामान्य अवस्थामा घर फर्केको बलरामको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य अमरबहादुर साउदले लागूपदार्थ दुव्र्यसनमा पछिल्लो समय धेरै युवा फसेको बताउनुभयो ।