काठमाडौं, माघ १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो ।
राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उहाँको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी छ भन्नुभयो । उहाँले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
“कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्थ्याे । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नु नै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।
कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनुहुँदैन ।”