माघ १४ गते शनिबार राजधानी काठमाडौंस्थित त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा नियमितभन्दा बढी मात्रामा यात्रुको भीडभाड देखिन्थ्यो । विशेषगरी अन्तर्राष्ट्रिय उडानका अवतरण तथा उडानमा ढिलाइ भएका कारण यात्रुको आक्रोश स्वाभाविकै पनि थियो । विमानस्थलमा भित्रिने तथा बाहिरिने यात्रुका साथै कनेक्टिङ फ्लाइटसमेत प्रभावित भएको स्थिति सिर्जना हुन पुग्यो । एक किसिमले भन्नुपर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार १२.३० बजेदेखि लगभग पाँच घण्टाको अवधि निकै सकसपूर्ण तथा होहल्लापूर्ण थियो । अनिश्चित थियो र थियो अब के कसरी यात्रा गर्ने भन्ने चिन्ता । कर्मचारीसमेत के गर्ने र नगर्नेमा चिन्तित थिए । प्रयास जारी भए पनि काम हुन सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो स्थिति सिर्जना हुनुमा शनिबार अधिकांश सरकारी वेबसाइटमा देखिएको समस्या नै प्रमुख कारक थियो । साइबर सुरक्षामा आएको चुनौती थियो । जीओभी डट एनपी अर्थात् नेपाल सरकारका वेबसाइटहरू, प्रधानमन्त्री कार्यालयका साथै प्रायःजसो साइट खुल्न सकिरहेका थिएनन् । यसै क्रममा त्रिभुवन विमानस्थलको अध्यागमन, भन्सार कार्यालयलगायतका साइटमा समस्या देखिँदा यात्रुलगायत सबै सेवाग्राहीले सास्ती भोग्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।
सरकारको राष्ट्रिय सूचनाप्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान बढी प्रभावित हुन पुगेका थिए । शनिबारका दिन भएकाले अन्य सरकारी वेबसाइटमा देखिएका समस्याले सर्वसाधारण सेवाग्राहीमा खासै प्रभाव नपरे पनि हवाई यात्रु तथा विमानस्थलको उडान अवतरण भने निकै प्रभावित भयो । प्राविधिक विषय भएकाले समय–समयमा प्राविधिक गडबडी देखा पर्नु स्वाभाविकै भए पनि यस प्रकारका समस्या समाधानका निम्ति हाम्रा प्राविधिक तयारी तथा सक्षम अवस्थामा हुनुपर्ने आवश्यकता देखिएको छ । वेबसाइटहरू ह्याक हुन सक्ने कुरामा समेत गम्भीर हुनुपर्ने देखिएको छ । यस्ता समस्या हाम्रोजस्तो मुलुकमा मात्र नभई प्रविधिको चरमचुलीमा पुगेका मुलुकमा समेत हुने गर्दछन् । केही दिनअघि अमेरिकामा पनि सूचनाप्रविधिमा देखिएको गडबडीले देशव्यापी रूपमा हवाई उडान प्रभावित भएका थिए र त्यहाँ पनि समस्या समाधानका निम्ति ३६ घण्टाभन्दा बढी समय लागेको विषय पनि सार्वजनिक भएको थियो ।
नेपाली सरकारी सूचना अधिकारीका भनाइलाई आधार मान्ने हो भने शनिबारको समस्या सरकारी सर्भरमा रहेको फायरवालमा मेमोरी एक्कासि बढेपछि सिर्जना भएको हो । अर्को सहज भाषामा यसलाई साइबर आक्रमणका रूपमा पनि लिन सकिन्छ । ह्याकरहरू साइट प्रवेश गर्न खोज्दा यो समस्या सिर्जना भएको विज्ञको मत रहेको छ । कुनै निश्चित स्थानबाट यो आक्रमण भएको पत्ता नलागिसकेको अवस्था अहिलेको हो । यो आक्रमणबाट सरकारी सूचना तथा तथ्याङ्कमा कुनै हानि भएको जानकारी त छैन तर भविष्यमा यस्ता समस्या नआऊन् भन्न के कस्तो तयारी गर्नुपर्ने हो ? त्यसमा भने गम्भीर हुनुपर्ने देखिएको छ ।
यसअघि पनि विभिन्न समयमा सरकारका केही वेबसाइटमा ह्याकरहरूले समस्या सिर्जना गरेका थिए तर यस पटक एकै पटक धेरै सरकारी वेबसाइटमा देखिएको समस्या विगतभन्दा गम्भीर तथा चुनौतीपूर्ण रहेको देखियो । विशेषतः अन्तर्राष्ट्रिय उडान तथा यसको अवतरणमा देखिएको समस्याले विभिन्न किसिमका दुर्घटनाको आशङ्का पनि त्यत्तिकै व्याप्त थियो । स्थितिलाई नेपाली सूचना प्राविधिकले समयमै नियन्त्रणमा लिन सक्दा कुनै अप्रिय अवस्थाको सिर्जना हुन पाएन । ह्याकरहरूले साइट प्रवेश पाएर त्यहाँका गोप्य सूचना तथा तथ्याङ्कको दुरुपयोग गर्न सम्भव भएको भए स्थिति निकै जटिल हुन सक्दथ्यो । यो निकै नै गम्भीर प्रश्न हो ।
विगत र यस पटकको साइबर आक्रमणबाट हाम्रा सरकारी वेबसाइटको साइबर सुरक्षाबारे कतिपय प्रश्न भने पक्कै पनि उठेका छन् । सरकारी सर्भर तथा वेबसाइटलाई अझै बढी सुरक्षित बनाउनुपर्ने आवश्यकता वर्तमानको मुख्य चुनौती रहेको छ । यसका निम्ति सरकारका सम्बद्ध निकायको गहन गृहकार्य महत्वपूर्ण छ । साथै प्राविधिकलाई नवीनतम समस्या तथा आक्रमणको समाधान गर्न सक्षम हुने तरिकाले उच्चस्तरीय तालिम, प्रशिक्षणको आवश्यकता पनि त्यत्तिकै जरुरी देखिन्छ । भविष्यमा पुनः यस्ता आक्रमण वा समस्या नदोहरिएलान् भन्न सकिँदैन । तसर्थ भोलिका समस्याका निम्ति तयारी अवस्थामा रहनु श्रेयस्कर छ । वर्तमान विश्वमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्वपूर्ण हो र यसलाई सरोकार निकायले त्यसै रूपमा बुझ्नु जरुरी छ ।