• ८ मंसिर २०८१, शनिबार

स्याङ्जामाको काली गण्डकीमा पुस्तकालय सञ्चालनमा

blog

नवनिर्मित मातृभूमि पुस्तकालय भवन । तस्बिर: गोरखापत्र

राधाकृष्ण डुम्रे

वालिङ,माघ १४ गते । स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो । 

रिड नेपाल, जापान सरकारको शान्ति भोलेन्टियर एसोसिएसन, स्थानीय सरकार र समुदायको सहकार्यमा भवन निर्माण भएसँगै गाउँमै सुविधा सम्पन्न पुस्तकालयको सञ्चालनमा आएको अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पुस्तकालय भवनमा पुस्तकालय कक्ष, महिला कक्ष, बाल कक्ष, प्रौढ कक्ष,सूचना सञ्चार कक्ष, श्रव्य दृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, र सामुदायिक सभा हल रहेको पुस्तकालयका अध्यक्ष पाण्डेले बताउनु भयो ।

सबै उमेर समूहलाई लक्षित गरी सञ्चालनमा ल्याइएको पुस्तकालय प्रभावकारी रहने पाण्डेको भनाई छ । उहाँले भन्नुभयो, “स–साना बालबालिका देखि प्रौढ उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा पुस्तकालय निर्माण भएको छ, जसले सबै उमेर समूहका लागि उत्तिकै लाभदायी हुनेछ ।” अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएसँगै स्थानीयवासीमा पठन संस्कृतिको विकास हुने अध्यक्ष पाण्डेको विश्वास रहेको छ । 

पुस्तकालय निर्माणका लागि विसं २०७७ चैतमा सम्झौता गरिएको थियो । पहिलो चरणमा कूल रु एक करोड १९ लाख एक हजार ९१ को लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो । जसमध्ये जापान सरकारका तर्फबाट रु एक करोड १५ लाख सहयोग र बाँकी रु चार लाख एक हजार ९१ स्थानीय समुदायले व्यवस्थापन गरेको हो ।

यस्तै भौतिक सामग्री, पुस्तकहरू, साधन स्रोत, तालिमलगायत अन्य प्राविधिक कार्यका लागि रु ५२ लाख २४ हजार आठ सय ४६ थप सहयोग स्वरूप प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सरस्वती पूजाको अवसर पारेर मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नवनिर्मित अत्याधुनिक पुस्तकालय भवनको उद्घाटन गर्नुभएको हो । पढ्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै पुस्तकालयले काली गण्डकी क्षेत्रका नागरिकको चेतनाको स्तर वृद्धिमा महत्त्वपूर्ण सहयोग पुग्ने रेग्मीको विश्वास रहेको छ । 

यस्तै पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अत्याधुनिक पुस्तकालय बनेकोमा खुसी व्यक्त गर्नुभयो, उहाँले भन्नुभयो, “पछिल्लो समयमा पढ्ने संस्कृति हराउँदै गएको छ जसलाई कम गर्न यसले सहयोग गर्नेछ ।”

शान्ति भलुन्टर एसोसिएसनका नेपाल निर्देशक हिरोको हागिहाराले नेपालका लागि जापानी राजदूतको शुभकामना सन्देश सहित आगामी दिनमा समेत पुस्तकालयसँग सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी गराउनु भयो । रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सबै उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा बनाइएको हुँदा पुस्तकालयबाट सबै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा र काली गण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पुस्तकालयको श्रीवृद्धिका निम्ति अभिभावकत्व ग्रहण गर्न आफूहरू तयार रहेको धारणा राखे ।

कार्यक्रममा पुस्तकालयका सचिव नारायण पाण्डेय, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी, पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डेय वडाध्यक्ष यादव प्रसाद पाण्डेय लगायतले बोलेका थिए ।