• १३ साउन २०८१, आइतबार

लामिछानेद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदबाट राजीनामा

blog

रवि लामिछाने । फाइल तस्बिर

काठमाडौं, माघ १३ गते। सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ। 

अदालतको फैसलापछि शुक्रबार साँझ गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय नरहेको र अदालतको फैसलालाई आफूले स्वागत गरेको बताउनुभएको हो। 

उहाँले भन्नुभयो,“अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरू प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने।” 

सर्वोच्चको फैसलामा तपाईँको प्रतिक्रिया के छ भन्ने  पत्रकारले सोधेको प्रश्नमा लामिछानेले भन्नुभयो,“तपाईँहरू एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ,  कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ , म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन।”

सर्वोच्च अदालतले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गुमेको छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सो ठहर गरेको हो। 

सर्वोच्चको फैसला लगत्तै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर  उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिनुभएको छ। लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार बालुवाटार पुगेर लामिछानेले राजीनामा बुझाउनुभएको हो।