काठमाडौं, माघ १२ गते । नेपाल क्रिकेट सङ्घको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिग क्रिकेटमा खेलाडीको परिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।
राखेप सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले बुधवार राखेप सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्रीस्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका निष्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता, सञ्चालन लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको सर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना नभएको र सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।
साथै प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न पनि निर्देश गरेको छ । नेपाल टी–२० लिगमा शङ्कास्पद एवं अस्वाभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषीमाथि प्रचलित कानुन एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारबाहीमा आवश्यक सहयोग प¥याउने निर्णय कार्यदलले गरेको छ ।
छानबिन समितिले आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख पनि गरेको छ । प्रतियोगिताका दौरान खेल मिलेमतो, स्पट फिक्सिङ र बेटिङसमेत भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
सीआईबीले सोमबार खेल मिलेमतोमा संलग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउण्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउण्डर आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ । सीआईबीले अनुसन्धानका लागि पाँच दिनको समय थपेको छ ।