• ८ पुस २०८१, सोमबार

प्रदेश अस्पतालमा जनशक्ति अभाव

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १२ गते । कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षमा कर्णालीवासीलाई उपचारका लागि निकै सहज भएको छ। केही वर्षअघिसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो। अहिले सबैजसो उपचार सेवा कर्णालीमै सम्भव भएपछि उक्त बाध्यता हटेको छ।

कर्णाली प्रदेश सरकारको एक मात्र ठूलो स्वास्थ्य संरचना भएको प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेको छ। स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सेवा थप्दै जाँदा नागरिकको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको जनस्वास्थ्यका जानकार बताउँछन्।

विशेषज्ञ सेवा दिन थालेपछि प्रदेश अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएको अस्पतालले जनाएको छ। प्रभावकारी सेवा क्षेत्र विस्तार हुँदा पहिलेको तुलनामा बिरामीको चाप ह्वात्तै बढेको जनाइएको छ। अस्पतालले स्वास्थ्य बीमाबापत पाइने विभिन्न सेवा पनि दिइरहेको छ। बीमामा उल्लेख भएका उपचार सेवा सहजै पाइने भएपछि बिरामीको आकर्षण बढेको बताइन्छ। गत वर्षको तुलनामा अस्पतालमा सेवा लिनेको सङ्ख्या वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा ४९ हजार ४३० जनाले ओपीडी सेवा लिएकामा चालू आर्थिक वर्षको झन्डै छ महिनामा ८४ हजार २८८ जनाले सेवा लिइसकेका छन्। अस्पतालको विवरणअनुसार गत वर्ष १० हजार ७४६ जनाले इन्डोर सेवा लिएका थिए। चालू आर्थिक वर्षको यो अवधिमा ११ हजार ८९१ जनाले उक्त सेवा लिइसकेका छन्। त्यस्तै गत वर्ष सात हजार २२६ जनाले इमर्जेन्सी सेवा लिएकामा यो वर्षको छ महिनामा एक हजार ८८६ जनाले सेवा लिएका जनाइएको छ। अस्पतालका अनुसार सीटी स्क्यान, एक्स–रे यूएसजी, मेजर अपरेसन, डेलिभरीलगायतका सेवा लिनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ।

स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव भने अहिले पनि झेलिरहेको छ। बिरामीको चाप अत्यधिक भए पनि सोही अनुपातमा स्वास्थ्यकर्मी भने छैनन्। जनशक्ति अभावले सेवा प्रवाहमा कठिनाइ भइरहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताउनुभयो।

अस्पतालमा विभिन्न तहका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी २३९ जनाको दरबन्दी अझै रिक्त छ। कुल ३२५ जनाको दरबन्दी रहेको अस्पतालमा ८६ जनाको मात्रै पदपूर्ति भएको छ। सेवा सञ्चालनका लागि अस्पतालले झन्डै तीन सय स्वास्थ्यकर्मीसहितका कर्मचारी करारमा लिएको छ।  प्रदेश अस्पतालमा हाल अन्तरङ्ग सेवाका लागि २७५ र इमर्जेन्सी सेवाका लागि २५ शøया सञ्चालनमा छन्।