गोरखापत्र अनलाइन
काठमाडौँ, चैत १९ गते । सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न गराउन निर्देश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत विनोद रेग्मीले बुधबार एक विज्ञप्ति प्रकाशन गर्नुहुँदै सो निर्देशन गरिएको बताउनुभएको हो । रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायहरूमा गर्नु गराउनु निर्णय अनुसार अनुरोध गरिएको छ ।”
जारी तीन बुँदे अनुरोधमा सबै सार्वजनिक निकायहरूले आफ्नो सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवम् सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रशारणको व्यवस्थापन गर्ने भनिएको छ । सोही अनुसार भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा जम्मा गर्ने व्यवस्था गर्ने भनिएको छ ।
