• ९ पुस २०८२, बुधबार

नारायणगढ–बुटवल सडकखण्ड : प्रगति निराशाजनक यातायातमा सास्ती

blog

मीना कँडेल

कावासोती, माघ १२ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार भएको तीन वर्ष पूरा हुँदा पनि २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तार सम्झौता भएको मितिले ४८ महिना पूरा भए पनि सडक पुनर्निर्माणको प्रगति भने निराशाजनक रहेको छ ।

 बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडकखण्ड सहरी क्षेत्रमा छ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन, दाउन्नेखण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । सो सडकको ११४ किमिमध्ये २८ किमिमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत मात्र काम भएको छ । 

गैँडाकोटमा ११० मिटर सडक  ‘परीक्षण कालोपत्रे’ तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ । दाउन्ने–गैँडाकोट खण्डमा २१५ वटा साना पुल (कल्भर्ट) २२ वटा मध्यम पुल (माइनर ब्रिज) र २५ मिटरभन्दा लामा १२ वटा ठूला पुल पर्छन् । जसमध्ये ८० वटा साना पुल पूर्ण रूपमा सम्पन्न भएका छन् । 

६० वटा पुल आंशिक रूपमा सम्पन्न भएका छन् । सडक दाँयाबाँयाको काम भएको र बीचको काम बाँकी रहेको छ । त्यसैगरी २५ वटा पुलको काम सुरु भएको चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाले बताउनुभयो ।

जयश्री, पत्थरखोला, बौलाहखोला र लोकाहखोला पुललगायतको निर्माण अघि बढेको छ । लोकाह र डन्डाको पत्थरखोला पुल वर्षायामअघि नै गाडी गुडाउन मिल्नेगरी बनाउने लक्ष्यसाथ काम भइरहेको सडक इन्जिनियर झाले बताउनुभयो । उहाँका अनुसार चारवटा पुलको जग हाल्ने (जमिनमुनिको) कामसमेत हुन सकेको छैन । प्राविधिक रूपमा असहज भएकाले पनि यी पुलको जगसमेत हाल्न नसकिएको भनाइ उहाँको छ । 

कतिपय पुल निर्माण भइरहेको स्थानमा डाइभर्सन (वैकल्पिक सडक) बनाएर काम अघि बढेको छ । सडक विस्तारक्रममा अहिले पुल निर्माण, रुख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम तीव्र भइरहेको छ ।

“क्रसर उद्योग बन्द हुँदा एक अस्थायी क्रसर उद्योगबाट निर्माण सामग्री ल्याएर सडक निर्माण भएको छ । रुख कटान ९९ प्रतिशतमात्रै सकिएको छ,” झाले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ । जसकारण सडक विस्तारमा समस्या भएको छ ।”

नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण गरिएको छ । भू–बनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् । एसियाली विकास बैङ्क एडीबीका ऋण सहयोगमा सुरु भएको सडक विस्तार निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ रहेको छ । लागतको ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी रहेको छ । 

दुई प्याकेजमा निर्माण भइरहेको यस सडकको गैँडाकोट–दाउन्ने सडकखण्डमा पर्ने ६५ किमि खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवलखण्डमा पर्ने ४९ किमि खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ रहेको छ ।