• १३ साउन २०८१, आइतबार

जनकपुरका दुई युवाको भारतमा हत्या, शव नेपाल ल्याइँदै

blog

१३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं.१३ निवासी वर्ष २२ को विष्णु साहको हत्या । फाइल तस्बिर

काठमाडौं, माघ ८ गते । जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।

मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरूले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको जानकारी उहाँले दिनुभयो ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशबण्डापछि अलगअलग भएका थिए ।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरूले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरूको रहेको बताउनुभएको छ ।