• ८ मंसिर २०८१, शनिबार

‘एकता स्थापित गर्न पर्वको भूमिका महत्त्वपूर्ण’

blog

अविनाश चौधरी

धनगढी, माघ ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ । 

आइतबार तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दैआएका छन्’ शुभकामना सन्देशमा उल्लेख छ ।  

नेपाली समाज धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा सहिष्णुता र बन्धुत्वको एकतामा अन्तरघुलित रहेको मुख्यमन्त्री रावलको भनाइ छ । उहाँले तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशीयालीस्वरुप मनाइने सोनाम ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको बताउनुभयो ।

यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैआएको मुख्यमन्त्रीको भनाइ छ । मुलुकमा मनाइने यस्ता चाडपर्वको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उहाँले बताउनुभएको छ ।  

पर्वले सामाजिक सौहार्दता र विकासमा एकताबद्ध भई राष्ट्र निर्माणका लागि अगाडि बढ्न प्रेरणा देओस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । सोनाम ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा पनि मनाउँदैआएका छन् । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरसहित पहाडी जिल्लामा यो समुदायको बसोबास रहेको छ ।