• १२ असोज २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन

blog

फाइल तस्बिर

निशा राई

धरान, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान धरान उपमहानगरपालिका विजयपुरस्थित शक्तिपीठ मन्दिरहरूको दर्शन गर्नुभएको छ । माघे सङ्क्रान्तिको अवसरमा विजयपुरस्थित दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा दर्शन एवम् पूजाअर्चना गरी मन्दिरहरूको दर्शन गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीले सुरुमा दन्तकाली मन्दिरको पूजा गर्नुभएको थियो । दन्तकाली भगवती मन्दिरमा पूजाअर्चना गर्दा राष्ट्रपतिलाई नौ कन्याहरूबाट स्वागत सम्मान गरिएको थियो ।

पिण्डेश्वर महादेव मन्दिरमा राष्ट्रपतिलाई ब्राह्मण बटुकहरूले स्वस्ति वाचन गरी स्वागत गरी पूजाअर्चना गर्नुभएको थियो । पिण्डेश्वर मन्दिर परिसरमा डा. टङ्कप्रसाद न्यौपानेलगायत स्थानीय समाजसेवीसँग भेटघाट गर्नुभएको थियो ।  

त्यसैगरी बुढासुब्बा मन्दिरमा परम्परागत विधिअनुसार राष्ट्रपति भण्डारीले पूजा अर्चना गरी मन्दिर परिसरमा रहेको बाँसको अवलोकन पनि गर्नुभयो । उहाँलाई सम्झनास्वरुप बुढासुब्बा मन्दिरका पुजारी प्रेम आलेले मायाको चिनो बुढासुब्बा मन्दिरको तस्बिर प्रदान गर्नुभयो । पुजारी आलेले यसरी राष्ट्रको प्रमुखहरूको उपस्थिति र स्थलगत अनुगमन हुँदा मन्दिरहरूको व्यवस्थापन, विकास निर्माणको सुधार हुने आशा गर्नुभयो ।     

राष्ट्रपति भण्डारी आउँदा प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसहित   प्रदेश १ का सांसदहरूको उपस्थिति  थियो । 

यसैबीच,पोखरामा विमान दुर्घटना भएको खबर पाएपछि भने उहाँले पूर्व निर्धारित सबै कार्यक्रम रद्द गर्नुभएको छ ।